
पोखरा, २७ मंसिर । पर्यटकीय नगरी पोखराको सृजनाचोकमा आकाशेपुल निर्माण हुने भएको छ । पोखराका व्यस्त चोकहरुमध्ये पोखरा महानगरपालिका वडा नम्बर ८ स्थित सृजनाचोकमा आकाशे पुल निर्माण हुने भएको हो ।
पुलको शुक्रवार बिहान गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शिलान्यास गरे । पुल शिलान्यास गर्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विकासका लागि तीनै तहको सरकारबीच सहकार्य हुनुपर्ने बताए । उनले पोखराको विकासका लागि पोखरा महानगरपालिका, प्रदेश सरकार र संघ सरकारबीच सहकार्य हुनुपर्ने बताए । ‘कुनै एउटा सरकार लागेर मात्रै हुँदैन’–उनले भने– ‘व्यवस्थित विकासका लागि तीनवटै सरकारबीच सहकार्य हुनुपर्छ ।’

मुख्यमन्त्री गुरुङले पोखरामा पार्किङको समस्या बढ्दो रुपमा रहेकाले यसको व्यवस्थापनमा ध्यान दिन जरुरी रहेको बताए । पोखराको पार्किङ व्यवस्थापनमा नीजि क्षेत्रले हात हाल्नुपर्ने भन्दै उनले त्यसका लागि पोखरा महानगरपालिकाले समन्वय गर्नुपर्ने बताए ।
गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला, सांसद विन्दुकुमार थापा, पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङले मन्तव्य राखेका थिए ।

आउँदो चैत मसान्तसम्ममा बनाइसक्ने लक्ष्यका साथ मुख्य चोकहरुमा बढदो ट्राफिक जामलाई घटाउने उद्देश्यले आकाशे पुल निर्माण गर्न लागिएको हो ।
आकाशे पुलको लागि २ करोड ३० लाख ११ हजारको लागत लाग्ने बताएको छ । पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा आकाशे पुल निर्माण गर्न लागेको हो ।
पुल निर्माणको जिम्मा के.एम. जे.बि.एन.एस. पोखराले ठेक्का लिएको छ । सृजनाचोकको चारैतिर आकाशे पुल हुनेगरी पुल निर्माण गरिनेछ । पुल स्टील जडित भएकाले निर्माणका लागि समय धेरै नलाग्ने र निधारित समयमै सम्पन्न हुने इन्जिनियर बाबुराम भण्डारीले बताए ।