ग्याजेट होइन किताब चाहिन्छ– गौतम

-


     मर्दी न्युज    
     मंसिर २८ गते २०७६ मा प्रकाशित


Pokhara Literature Festival

पोखरा, २८ मंसिर । पोखरामा चलिरहेको आईएमई नेपाल साहित्य महोत्सवको दोस्रो दिनको एउटा सत्रमा डा. वसन्त गौतमले बालबालिकाको कल्पनाशीलता टिभीले मार्छ भन्ने विकसित देशमा धेरै पहिले आइसकेको बताए । उनले भने —‘जापानजस्तो विकसित देशमा बालबालिकालाई हुर्काउन ग्याजेट होइन किताब चाहिन्छ भन्ने छ,’ उनले भने, ‘नेपालमा परिवारले पढाइमा आकषिर्त गर्न खोजेकै छैनौं ।’
आईएमई नेपाल साहित्य महोत्सवको दोस्रो दिनको एउटा सत्रमा ‘बालबालिकाको हातमा मोबाइल कि पुस्तक ?’ विषयमा छलफल भएको हो ।
त्यसैगरी मनोपरामर्शविद् करुणा कुँवरले ‘अभिभावकले आफूलाई कसरी सहज हुन्छ भनेर सोचिरहेका हुन्छन्, बालबालिकाका विषयमा सोच्दैनन् भन्ने धारणा व्यक्त गरे । यदि अभिभावक सचेत भएको भए आज यो विषयमा छलफल नै गर्नु पर्दैनथ्यो,’ उनले भनिन् ‘अभिभावकले बालबालिकालाई कोकिन दिइरहनुभएको छ, आफैं पनि खाइरहनु भएको छ ।’
कुँवरकाअनुसार स्क्रिन टचवाला ग्याजेटको अत्याधिक प्रयोगले प्रश्न गर्ने दिमागलाई कोकिन प्रयोग गरेजत्तिकै असर गर्ने अध्ययनहरुले देखाएको बताए । इन्टरनेट एडिक्सनमा लाग्ने रोगलाई सेल्फी टी भनेर नामाकरण गरिएको पनि उनले बताए ।
लेखक बिना थिङ तामाङले यो घरघरको समस्या भएको बताइन् । सूचनासँग नजिक हुनैपर्छ तर कुन समयपछि भन्ने तय गर्न सक्नुपर्ने उनको धारणा छ ‘अभिभावकले मात्र गरेर हुँदैन । शिक्षकहरुले चाहने हो भने पठन संस्कृति विकास गराउन सक्छन् ।’
यस छलफल सत्रमा भवसागर घिमिरेले सहजीकरण गरेका थिए ।