सयभन्दा बढी चिनियाँ नागरिक पक्राउ

-


     मर्दी न्युज    
     पुस ७ गते २०७६ मा प्रकाशित


Mardi News

काठमाडौँ, ७ पुस । नेपाल प्रहरीले काठमाडौंको विभिन्न स्थानमा ‘सर्च अप्रेसन’ गरी सयभन्दा बढी चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको छ ।
भिसाको म्याद गुज्रिसकेपछि पनि नेपालमै बसेर साइबर अपराधसँग सम्बन्धित गतिविधिमा संलग्न भएको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी परिसर काठमाडौं संयुक्त टोली सर्च अप्रेसनमा सामेल थियो ।
स्रोतका अनुसार प्रहरी मुख्यालयबाट प्राप्त सूचनाका आधारमा तीनवटै टोली परिचालित भइ अनुसन्धानको क्रममा चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले राजधानीका विभिन्न अपार्टमेन्ट तथा फ्ल्याटहरुमा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको हो । मनमैंजु र बाँसबारीस्थित दुई घर र बुढानिलकण्ठस्थित एक घरमा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार उनीहरु अवैध क्रियाकलामा संलग्न रहेको पाइएको छ । विदेशमा समेत उनीहरुले काठमाडौँबाटै साइबर अपराध गर्ने गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
प्रहरीले यससम्बन्धी थप अनुसन्धान भइरहेको पनि जनाएको छ । चिनिया नागरिकको साथबाट करिब ४५० थान ल्यापटप तथा सयौं थान मोबाइल र सीम पनि बरामद गरिएको बताउँदै उनीहरुमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।

पक्राउ परेका अधिकांश चिनियाँहरुले चिनियाँ भाषामात्रै बोल्ने भएको हुँदा ६÷७ जना दोभाषे लगेर प्रहरीले बयान लिने प्रयास गरिरहेको बताइएको छ ।