
आज पुस १० गते बिहीबार खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । सूर्यग्रहण काठमाडौंमा विहान ८ बजेर ४३ मिनेटमा सुरु भई ११ बजेर ३३ मिनेटमा सकिनेछ । सुदूरपश्चिमको महेन्द्रनगरमा ८ ः ३८ मा सुरु भई ११ ः १९ मा सकिनेछ भने पूर्वको झापामा भने ८ ः ४८ मा सुरु भई ११ः २७ मा सकिनेछ ।
यो खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, श्रीलंक लगायत एशियाका सबै देश, हिन्दमहासागर, मलेशिया, पूर्वी युरोप, उत्तररपश्चिम अ‘ास्ट्रेलिया, पूर्वी अफ्रीकासहित विश्वका अधिकांश ठाउँबाट देख्न सकिनेछ । नेपाली समय अनुसार बिहानको ८ बजेर ४२ मिनेटमा स्पर्श हुने र १० बजेर ०१ मिनेटमा मध्य हुने र ११ बजेर ३१ मिनेटमा मोक्ष हुनेछ । अतः सम्पूर्ण ग्रहण अवधि २ घण्टा ४९ मिनेटको रहनेछ । विशेष यो खण्डग्रास सूर्यग्रहण पश्चिम र दक्षिणको बीचतर्फबाट स्पर्श भई पूर्व र दक्षिणको बीचमा मोक्ष हुनेछ ।
सूर्य ग्रहणलाई खाली आँखा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गरेर कदापि पनि अवलोकन गर्नु हुँदैन । यसो गरेमा आँखा सदाका लागि बिग्रिने सम्भावना रहन्छ । साथै एक्सरे प्लेट, ध्वाँसो लगाएको ऐना तथा पानीमा समेत सूर्यको प्रतिबिम्बलाई अवलोकन गर्नु हुँदैन ।
विशेष प्रकारको गाढा रङ्गको धातु लेपन भएको चश्माबाट मात्र यसको अवलोकन गर्न सकिन्छ, साधारण चश्माबाट यसको अवलोकन गर्नु हुन्दैन ।
सूर्य ग्रहणको समयमा मानवमा पर्ने प्रभावबारे भने हालसम्म कुनै पनि वैज्ञानिक आधारहरू प्राप्त हुन नसकेको खगोलविदहरु बताउँछन् ।