
१२ पुस, पोखरा । नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको उपाधि चितवन राइनोजले जितेको छ । शनिबार भएको फाइनल खेलमा चितवनले बिराटनगर टाइटन्सलाई ३२ रनले हरायो ।
२ सय ३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरको निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो । उसका लागि ओपनर मोहम्मद जायद खानले अर्धशतकीय पारी खेले ।
तर अर्का ओपनर सुनिल धमलाले चार रन मात्र बनाउन सके । उनलाई सन्नी पटेलले बोल्ड गरेका हुन् । तेस्रो ओभरमा लोकेस बम पनि करण केसीको बलमा क्याचआउट भएपछि विराटनगर सुरुमै समस्यामा परेको थियो ।
मोहम्मद दैज आलमले नुमान खानसँग मिलेर ५३ रनको साझेदारी गर्दै पारी उकास्ने प्रयास गरे । तेस्रो विकेटका लागि ५३ रनको साझेदारी गरेका खान १८ रनमा आउट भए । त्यसपछि कप्तान प्रदीप ऐरीसँग मिलेर जायदले चौथो विकेटका लागि ४१ रनको साझेदारी गरे । १४.१ ओभरमा जाइद ५७ रनको स्कोरमा आउट भए । उनले ४८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।
पाँचौं विकेटका लागि पुनित मेहरा र कप्तान प्रदीपले ४७ रनको साझेदारी गरेका थिए । १७.५ ओभरमा पुनित मेहरा ३२ रनको स्कोरमा आउट भएपछि विराटनगरको हार निश्चित बन्यो । त्यसपछि लगातार विकेट झरिरह्यो । १९ औं ओभरमा करण केसीले दिलिप नाथलाई खाता नखोली आउट गराए । कप्तान प्रदीपलाई पनि ३६ रनको स्कोरमा आउट गराए । प्रदीपले २५ बलमा ३ चौका र १ छक्का प्रहार गरे । बलिङमा करण केसीले ३, सन्नी पटेलले २ र रोहन मुस्तफाले १ विकेट झारे ।
यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको चितवनले २० ओभरमा ३ विकेट गुमाएर २ सय २ रन बनाएको थियो । उसका लागि रोहन मुस्तफा र अनिलकुमार साहले अर्धशतक बनाएका थिए ।
मुस्तफाले कप्तान पारस खड्कासँग पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरे । खड्का २५ रनमा आउट भए । बाबर हाताय ५ रनमै पभेलियन फर्किए । चौथो नम्बरमा आएका अनिलले तेस्रो विकेटका लागि मुस्तफासँग ९५ रनको साझेदारी गरे । दुबै समान ५०÷५० रनामा आउट भए ।
अरिफ शेखले १९ रन जोडे । उनी आउट हुँदा टिकको स्कोर १ सय ७० रन थियो र मात्र ११ बल बाँकी थियो । करण केसीले आक्रामक पारी खेले । उनले ८ बलमा दुई चौका र दुई छक्कासहित अविजित २६ रन बनाए भने सन्नी पटेलले १६ रन जोडेका थिए ।