
तमू गुरुङ सञ्चारकर्मी संघ नेपालले तमू ल्होसारको अवसरमा सात सञ्चारकर्मीहरुलाई पुरस्कृत गरेको छ ।

तमू गुरुङ सञ्चारकर्मी संघ नेपालले हरेक बर्षझैं यस वर्षको तमू ल्होसारका अवसरमा विभिन्न सञ्चार क्षेत्रका विभिन्न विधामा कार्यरत सात जना सञ्चारकर्मीहरुलाई पुरस्कृत गरेको हो । जस अनुसार प्रधानसेनापति छत्रमानसिंह गुरुङ तथा कमला गुरुङ पत्रकारिता पुरस्कारबाट नागरिक खबर डटकमका प्रवन्ध सम्पादक मनोज घर्ती मगर र रेडियो गोर्खा पोखराकी स्टेशन म्यानेजर खिमा गुरुङ पुरस्कृत हुनु भएको छ ।

त्यस्तै सुश्री भद्रा घले पत्रकारिता पुरस्कारबाट बाँकेका गजेन्द्र गुरुङ, गोरखाका चित्र गुरुङ, सिआई टेकबहादुर गुरुङ तथा रसकुमारी गुरुङ पत्रकारिता पुरस्कारबाट सुनसरीका नविन गुरुङ पुरस्कृत हुनु भएको छ । त्यस्तै तमू आदिकवी हर्कवहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट पोखराकी पुनम गुरुङ पुरस्कृत हुनु भएको छ । त्यस्तै तमू पत्रकारिता पुरस्कारबाट प्राईम टेलिभिजनकी सृष्टि गुरुङ पुरस्कृत हुन भएको छ । पुरस्कार वितरण समारोहमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले इमान्दारिता र निरन्तरता नै जीवनको सफलता भएको बताउँदै पुरस्कृतिलाई बधाई दिनुभयो ।

कार्यक्रममा तमु गुरुङ संचारकर्मी संघ नेपालद्धारा वार्षिक रुपमा प्रकाशित हुने वर्ष पुस्तक गुरुङ न्युज डट कमको लोकार्पण गरिएको थियो । उक्त पुस्तकमा यस बर्ष गुरुङ समुदायका विभिन्न ब्यक्तित्वहरुले प्राप्त गरेका उपलब्धि र योगदानका बारेमा उल्लेख गरिएको छ ।