मिलेनियम पदमार्गको प्रबर्धनात्मक अन्तरक्रिया

-


     मर्दी न्युज    
     मंसिर १९ गते २०७६ मा प्रकाशित


Mardi

पोखरा । संघीय सांसद केदर सिग्देलले समृद्ध नेपाल निर्माणको लागि कृषि उत्पादनमा लाग्न आग्रह गर्नुभयो ।

विहीबार पोखरामा भएको ‘मिलेनियम पदमार्गको भ्रमण वर्ष २०२० मा प्रबद्र्धनको लागि अन्तरक्रिया’ कार्यक्रममा सो कुरा बताउनु भएको हो ।

‘देशमा ६७ प्रतिशत कृषि उत्पादन आयतित छ’ – उहाँले भन्नुभयो– गाउँका खेतियोग्य जमिन सबै बाझो राखेर कसरी समृद्धिमा पुग्न सकिन्छ ?, स्थानीय उत्पादन र स्वाद लिने वातावरण बनाउन सकियो भने मात्र पर्यटनबाट समृद्धि ल्याउन सकिन्छ ।’ २७ प्रतिशतको उत्पादनले आम्दानीमा बृद्धि नहुने बताउनु हुँदै उहाँले पर्यटनलाई आम्दानीसँग जोडेर हेर्न पनि आग्रह गर्नुभयो ।

गाउँको विकास नै देशको विकास हुनाले ग्रामीण पर्यटनका लागि मिलेनियम ट्रेकको कदम सही भएको बताउनुभयो ।

मिलेनियम पदमार्ग गुरुयोजना निर्माण संयोजक प्राध्यापक श्रीकान्त खतिवडाले पर्यटकीय वस्तु र विविधिकरणमा जोड दिनुभयो । मिलेनियम पदमार्गको सुन्दर पक्ष धेरै हुँदाहुँदै पनि ओझेलमा परेकाले त्यसको व्यापक प्रचारप्रसारमा लाग्न जोड दिनुभयो ।

समितिका अध्यक्ष नविनप्रकाश गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका लेखा अधिकृत गोपाल भण्डारी, प्रकृतिका साथीहरु संस्थाका निर्देशक राजु आचार्य, पोखरा बर्ड सोसाइटीका उपाध्यक्ष शेषकान्त शर्मा, मण्डला आईटी सोलुसनका ई. निशाल गुरुङ, महासचिव हर्क गुरुङ लगायतले मन्तव्य राख्नु भएको थियो ।

मिलेनियम पदमार्ग तनहुँको शुक्लागण्डकी गाछेपानीबाट शुरु भई स्याङ्जाको वालिङ रामबाच्छासम्म ७२ किलोमिटर छ । यो पदमार्ग जुनसुकै मौसमको लागि पनि उपयुक्त मध्यपहाडी पदमार्ग हो ।

सन् २००० बाट खुलेकोले यसको नाम पनि मिलेनियम (सहस्राब्दी) राखिएको हो । पदयात्रा मार्गले तनहुँको शुक्लागण्डकी नगरपालिका, स्याङ्जाका पुतलीबजार नगरपालिका, विरुवा गाउँपालिका, भीरकोट नगरपालिका र वालिङ नगरपालिका छोएको छ । ६ रात ७ दिनमा ट्रेक पूरा गर्न सकिन्छ ।

मिलेनियम ट्रेक व्यवस्थापन समितिले सबै मौसममा पर्यटक भित्र्याउन विभिन्न गतिविधि गर्दै आएको छ । समितिले यसको प्रबद्र्धनात्मकको लागि मण्डला आईटी सोलुसनसँग हालै मात्र सम्झौता गरी यही २३ मंसिरदेखि ३० गतेसम्म घुमन्ते समूहलाई लगी भिडियोमार्फत प्रचारप्रसारमा लागेको छ ।

त्यसै गरी पदमार्गको राङभाङमा मिलेनियम ट्रेक व्यवस्थापन समिति, राङभाङ युवा क्लब र प्रकृतिका साथी संस्थाका समन्वयमा माघ २४ र २५ गते लाटोकोसेरो तथा हुचिल उत्सवको आयोजना गर्दैछ ।

पदयात्रा पुग्ने पर्यटकले कोल्माकोट, भैंसेगौंडा, फारथुँ, बुढाकोटबाट एकसाथ धवलागिरी, अन्नपूर्ण हिमश्रृंखला, माछापुच्छ«े, लमजुङ हिमाल, गणेश हिमाल, मनास्लु हिमालको दृश्यावलोकन गर्न पाउँछन् ।

पदयात्रा मार्गमा १७ गाउँमा सामुदायिक होमस्टे छन् । पर्यटकले होमस्टेमा स्थानीय परिकारको स्वाद लिन पाउँछन् ।

सरकारले घोषणा गरेको भ्रमण वर्ष सन् २०२० मा मिलेनियम ट्रेकमा मात्रै ५० हजार विदेशी पर्यटक भित्र्याउने लक्ष्य समितिले लिएको छ ।