
पोखरा । माघ २४ र २५ गते विरुवा गाउँपालिका–३ को राङभाङमा लाटेकोसेरे तथा हुचिल उत्सव हुने भएको छ । सो उत्सव संस्कृति, पर्यावरण, संरक्षण र मनोरञ्जनको सम्मेलन हुने नेपाल लाटोकोसेरो तथा हुचिल उत्सवका संयोजक बालकुमार गुरुङले बताउनुभयो ।
लाटोकोसेरो महोत्सव अमेरिका, इटली, भारत र नेपालमा गरी ४ देशमा मात्र गरिन्छ । सन् २००६ देखि अमेरिकाको हस्टन, मिनिसोबाट लाटोकोसेरोको उत्सव मनाउन थालेको हो । नेपालमा लाटोकोसेरो तथा हुचिल उत्सव भने सन् २०१२ देखि प्रत्येक वर्ष नयाँ स्थानमा मनाउने गरिन्छ ।

हालसम्म यो उत्सव धादिङ, चितवन, नवलपरासी, गोर्खा, कास्की, कपिलवस्तु, दोलखा र खोटाङमा आयोजना गरिसकेको प्रकृतिका साथीहरु संस्थाका डाइरेक्टर राजु आचार्यले बताउनुभयो ।
आचार्यले नेपालमा ८ सय ८७ प्रजातिका चराहरु नेपालमा पाइने बताउनुभयो । उहाँले विश्वमा २ सय २५ प्रजातिका लाटोकोसेरोमध्ये २३ प्रजातिको लाटोकोसेरो नेपालमा पाइने बताउनुभयो । त्यसमा पनि ८ प्रजातिका लाटोकोसेरोहरु चोरी शिकारी र अवैध कारोवारका कारण राष्ट्रियस्तरमै दुर्लभ छन् । लाटोकोसेरोको एउटा प्रजाति लोप भैसकेको उहाँले बताउनुभयो ।
अन्नबाली खाएर सखाप पार्ने मुसा लाटोकोसेरेको प्रमुख आहारा हो । ४ वटा संख्यामा रहेको लाटोकोसेरोको एउटा परिवारले ४ महिनाको अवधिमा ३ हजार मुसा शिकार गर्ने भएकाले यो किसानको साथी भएको उहाँले बताउनुभयो ।
यो उत्सव मिलेनियम ट्रेक व्यवस्थापन समिति, राङभाङ क्लब र प्रकृतिका साथीहरु संस्थाको संयुक्त आयोजनामा मनाउन लागेको हो ।