
फोटोः टेकमान गुरुङ
समुद्री सतहबाट १४ सय ५० मिटरको उचाइमा रहेको गिलुङ गाउँ हिमाल दृष्यावलोकनका लागि निकै उपयुक्त मानिन्छ । लमजुङ जिल्लाको अति सुन्दर ऐतिहासिक प्राचीन गाउँँ गिलुङ भाषा र संस्कृतिले पनि धनी छ । विशेषत गुरुङ जातिको आधुनिक बसोबासमा परिणत भएको यस प्राचीन भूभाग रहेको क्होला रहेकाले पनि तमु जातिको बाहुल्य गाउँ हो गिलुङ । तीन चार पुस्तादेखि नै यहाँ बेलायत, सिङ्गापुर र भारतीय लाहुरे धेरै भएकोले अर्थको रुपले सम्पन्न छ । शिक्षा र साक्षरतामा पनि यस गाउँ धेरै अगाडि छ ।

प्राकृतिक सुन्दरताको दृष्टिले यो गाउँ हिमाललाई हिउँले घेरेझै देखिन्छ । बिहानीपख लमजुङ हिमाल न्यानो घाममा मुस्कुराइ रहेझै देख्न सकिन्छ । गाउँको वरपर अन्य छिमेकी गुरुङ गाउँहरु क्रपु, छापा, डडुवा पश्चिममा भोजे, कुङ्लुङ्, टक्सार, चरागाउँ, पसगाउँ र सिङ्दी उत्तरपूर्वतर्फ सैलुङ्, मालिङ घनपोखरा, घलेगाउँ र भुजुङको सुन्दर दृश्य देखिन्छ ।

वर्तमान नयाँ संरचना अनुसार कोह्लासोथर गाउँपालिका वडा नम्बर ९ स्थित यस गाउँमा लगभाग चार सय बीस घरधुरी छन् । नयाँ आर्थिक ग्रामीण अवधाराणाअनुसार आय आर्जनको निम्ति १ सय ५० जति घरमा ‘होमस्टे’ सञ्चालन गरेको छ । गाउँमै उत्पादित अर्गानिक ताजा तरकारी र अन्य खानाको परिकार यस गाउँको मुख्य विशेषता हो ।

आन्तरिक तथा बाह्य पर्यटन बढावाको लागि उपयुक्त गाउँ हो गिलुङ । २०६०÷०६१ सालमा जि. डब्लु. एसको सहयोगमा खानेपानी र एकघर एक शौचालय बनेको सोही गाउँकै पूर्व शिक्षिका सिर्जना गुरुङ्ले जानकारी गराउनु भयो । विगतमा यस गाउँमा महिलाहरुको निम्ति सीपमुलक काम नेपाल सरकारबाट ढाका पछ्यौरी तालिम दिने गथ्र्यो ।
पहिला पहिला यहाँका युवायुवतीहरु गुरुङ समाजमा प्रचलित संस्कृति रोधीँ जाने चलन थियो । तर आजभोलि समयक्रममा यो संस्कृति हराएर गएको छ ।
यहाँ दुइवटा विद्यालय छन् । एउटा आधारभूत ज्योतिबिन्दु र अर्को बुद्धोदय मध्यामिक विद्यालय । चिसापानीमा रहेको माविमा अहिले कक्षा १२ सम्म अध्यापन हुन्छ । प्राथमिक उपचारको निम्ति यहाँ एउटा स्वास्थ्य चौकी र सरकारी हुलाक पनि यथावत सञ्चालित छन् ।

यातयातको हिसाबले पोखरादेखि करिब साठी किलोमिटरको दूरिमा अवस्थित यस गिलुङ गाउँसम्म दिनको तीन पटक पोखरा –गिलुङ दोहोरो बस चल्ने गर्छ । बाटो पिच भने छैन । पोखरा बाग्लुङ बस पार्कबाट टिकट बूकिङ गर्न सकिन्छ । सात तालको शहर लेखनाथको बेगनासबाट तालवेंसी हुँदै हाँस पोखरी, करापुटार, डढुवा र छापा हुँदै गिलुङ गाउँसम्म पुग्न सकिन्छ । अब यस भेगमा छिटै कालोपत्रे पक्की सडक बन्ने कोह्लसोथर गाउँ पालिकाका अध्यक्ष श्री प्रेम घलेले बताउनु भयो । वहाँले प्रदेश सरकारबाट बजेट विनियोजित भई टेन्डर आव्हान प्रकृया अगाडि बढिसकेको पनि मर्दीन्युजलाई जानकारी गराउनु भयो ।

यस गिलुग गाउँ विकास निम्ति चारवटा देवी, शिव, शान्ति र मिलन आमा समूहहरु छन भने एउटा मिलन युवा क्लब छ । यस गाउँका समाजसेवी अगुवा वडा अध्यक्ष नन्दजङ गुरुङलगायत मनबहादुर गुरुङ, रामचन्द्र गुरुङ, वर्तमान घले, चन्द्रप्रसाद गुरुङलगायतका व्यक्तित्वहरु गाउँको विकासको निम्ति महत्वपूर्ण भूमिका रहेको गाउँलेले बताउँछन् । फोटोः पदम घले