काठमाडौं, १९ पुस । नेपाली कांग्रेसले लामो रस्साकस्सीपछि राष्ट्रिय सभा निर्वाचनका लागि १६ उम्मेदवार चयन गरेको छ । सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा शनिबार बिहान बसेको पदाधिकारी बैठकले राष्ट्रियसभा उम्मेदवारको नामावली टुंग्याएको हो । ९ माघमा हुने निर्वाचनका लागि ७ प्रदेशबाट गरी १६ उम्मेदवार छानेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
नेता रामचन्द्र पौडेल समूहले उम्मेदवार छान्ने केन्द्रीय कार्यसमिति बैठक र पदाधिकारी बैठक बहिष्कार गरेकाले संस्थापनले मात्रै उम्मेद्वार टुंग्याएको हो ।
स्रोतकाअनुसार काँग्रेसका राष्ट्रियसभा उम्मेदवार निर्वाचित हुने सम्भावना कम छ । तर, काँग्रेसले आफ्नो राजनीतिक हैसियत र उपस्थितिका लागि उम्मेवारी दिएको देखिन्छ ।
आगामी माघ ९ मा हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आइतबार हुने मनोनयन दर्ताका लागि काँग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको हो ।
काँग्रेस र समाजवादीबीच प्रदेश २ मा हुने राष्ट्रिय सभा निर्वाचनको ४ पदमा एक आर्कालाई सहयोग गर्ने सहमति भएको छ ।
स्थायी सदनका रुपमा रहेको राष्ट्रियसभामा ५९ सदस्य छन् । जसमा सत्तारुढ नेकपाका ८, काँग्रेसका ७, राजपाका २, समाजवादीका १ र एक जना राष्ट्रपतिबाट मनोनित (अर्थमन्त्री युवराज खतिवडा) को कार्यकाल समाप्त हुँदैछ ।
राष्ट्रियसभाका लागि काँग्रेसका उम्मेदवारहरु
प्रदेश १
निरबहादुर विश्वकर्मा (पाँचथर)
मिना पुलामी मगर (सुनसरी)
राजेन्द्र घिमिरे (झापा)
प्रदेश २
नगिना यादव (महोत्तरी)
भोला पन्जियार (धनुषा)
प्रदेश ३
हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक)
छलीकुमारी शर्मा उपाध्याय (चितवन)
गण्डकी प्रदेश
सूर्यप्रसाद रेग्मी (स्याङ्जा)
विमला गौचन (म्याग्दी)
प्रदेश ५
बालकृष्ण पाण्डे (अर्घाखाँची)
गिरिजा न्यौपाने (दाङ)
मेराज हलवाई (बाँके)
कर्णाली प्रदेश
डिल्लीराम पाठक (सुर्खेत)
सावित्री पौडेल (सुर्खेत)
सुदूरपश्चिम प्रदेश
प्रताप ठगुन्ना (बैतडी)
तुलसी देवकोटा (कैलाली)