काठमाडौं, २० पुस । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । सातै प्रदेशमा उच्च अदालत रहेका जिल्लामा आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ । बिहान १० बजेदेखि अपराहृन ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रियसभामा रिक्त हुन लागेका १८ पदका लागि माघ ९ गते निर्वाचन हुँदैछ । एक जनाको भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछ ।
सत्तासीन नेकपा र प्रमुख विपक्षी कांग्रेसले उम्मेदवार तोकिसकेका छन् । नेकपाले प्रदेश २ मा राजपासँग तालमेल गरेको छ भने कांग्रेसले समाजवादी पार्टीसँग तालमेल गरेको छ । राजपा र समाजवादी पार्टीले प्रदेश २ बाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार तोकेका छन् । २ नम्बर प्रदेशबाहेक ६ वटैमा प्रदेशसभा र स्थानीय तहमा सत्तासीन नेकपाको बहुमत छ भने २ नम्बर प्रदेशमा पनि नेकपाले राजपासँग तालमेल गरेर बहुमत सुनिश्चित गरेको छ ।
५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ८ जनाका दरले सांसद निर्वाचित हुनेछन् । निर्वाचित सांसदमध्ये एकतिहाइको दुई वर्ष, अर्काे एक तिहाइको चार वर्ष र बाँकी एकतिहाइको ६ वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था रहेको छ । तीन जना भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ । जसअनुसार नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका १ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित (अर्थमन्त्री युवराज खतिवडा) १ गरी कूल १९ सांसदको दुईवर्षे कार्यकाल आउँदो फागुन २० गते सकिँदैछ ।
राष्ट्रियसभा सांसदको म्याद सकिनु ३५ दिनअगावै निर्वाचन गर्नपर्ने संवैधानिक व्यवस्थाका कारण आगामी माघ ९ मा चुनाव हुन लागेको हो ।