
जनकपुर, २५ पुस । अवैध गिट्टी बालुवा उत्खनन्को पटक–पटक विरोध गर्दै आएका युवकलाई ट्रिपरले किचेर हत्या गरिएको छ । धनुषाको औरही खोला उत्खनन्को विरोधमा प्रहरी प्रशासनसम्म पुगेका युवकलाई सोही खोलामा ट्रिफरले किचेर शुक्रबार हत्या भएको स्थानीयको आरोप छ ।
धनुषाको मिथिला नगरपालिका–५ श्रीपुर बस्ने राम जीवन महतोको २४ वर्षीय छोरा दिलीपकुमार महतो ‘ओमप्रकाश’को औरही खोलामा ट्रिपरले किचेर हत्या भएको हो । शुक्रबार बिहान साथी रोशन यादवसँग खोलामा मोर्निङ वाक गएको समयमा ना ७ ख ६४१३ नम्बरको ट्रिपरले किचेको थियो ।
घटना लगतै इलाका प्रहरी कार्यालय ढल्केबरको टोली पुगेर महतोको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरी निरीक्षक रामकुमार यादवले बताए । घटनाको प्रकृति हेर्दा नियोजित रुपमा ट्रिपरले किचेर दिलिपको हत्या गरेको हुन सक्ने प्रहरी निरीक्षक यादवले बताए ।
घटनापश्चात ट्रिपर चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरी निरीक्षक यादवले बताए । गाउँलाई नै जोखिममा पर्ने गरी औरही–बसही खोलामा भइरहेको अवैध गिट्टी बालुवा उत्खनन्को दिलिपको नेतृत्वमा गाउँलेले विरोध गर्दै आएको थिए । रिसिबी साँध्न क्रसर सञ्चालकले योजनाबद्ध रुपमा दिलीपको हत्या गरेको स्थानीय उमेश कुशवाहाको आरोप छ ।
युवको हत्या विरोधमा स्थानीयले टायर बालेर पूर्वपश्चिम राजमार्गको ढल्केबर क्षेत्र केहिबेर अवरुद्ध पारेका थिए ।