
पोखरा, २६ पुस । युनाइटेड क्लबको आयोजनामा पोखरा अमरसिंह चौरमा हुने दशौं पोखरा महोत्वसको तयारी पूरा भएको छ । शनिवार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष लालकाजी गुरुङले मंगलबारदेखि आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।
युवाको जाँगर राष्ट्र निमार्णको आधार भन्ने नारासहित सञ्चालन हुने महोत्सवमा औद्योगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामनहरुको प्रदर्शनी, सूचना प्रविधिको प्रदर्शनीबारेमा जानकारी दिइने छ । महोत्सवबाट १ करोड ४० लाख आम्दानी हुने र १ करोड ५० हजार खर्च हुने तथा ३९ लाख ५० हजार बचत हुने आयोजकको अनुमान छ । महोत्सवमा २ सय ५६ स्टल रहने छन् भने महोत्सवको २ लाख दर्शकले अवलोकन गर्ने प्रचारप्रसार उपसमिति संयोजक शान्तवहादुर थापाले बताए ।
क्लबले महोत्सवको आम्दानीबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरुको शिक्षाका लागि छात्रवृत्ति, ग्रामिण क्षेत्रका नागरिकलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ । त्यस्तै क्लवले पोखराको पर्यटन क्षेत्रलाई मध्यनजर गर्दै लेखनाथको पचभैयामा चिडियाघर निर्माण गरिसकेको छ । त्यसैगरी सेती संरक्षणलाई अभियानका रुपमा अगाडि बढाई महोत्सव प्रवेश टिकटबाट प्रति टिकट रु. १ को दरले छुट्याई सेती संरक्षणको लागि खर्च गरिरहेको जानकारी दिए ।
महोत्सवको मुख्य प्रायोजकमा हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ रहेको छ भने प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड रहेको छ । विशेष सहयोगीको रुपमा पोखरा महानगरपालिका, सहयोगी संस्थाको रुपमा अमरसिंह मावि, जिल्ला समन्वय समिति कास्की रहेका छन् । अफिसियल बैंकको रुपमा ग्रिन डेभलपमेन्ट बैंक, अफिसियल इन्स्योरेन्सको रुपमा सिद्धार्थ इन्स्योरेन्स, अफिसियल इन्टरनेटमा वल्र्डलिङ्क र लेकसिटी पानी अफिसियल पानीको रुपमा रहेको छ ।
महोत्सवमा राष्ट्रिय स्तरका कलाकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्याण्डहरुको समेत प्रस्तुति रहने सांस्कृतिक उपसमिति संयोजक राजु श्रेष्ठले जानकारी दिए ।