दुई हप्ते माउन्टेन लिडर तालिम सुरु

-


     मर्दी न्युज    
     पुस २८ गते २०७६ मा प्रकाशित


Mardi News

काठमाडौं, २८ पुस । नेपाल पर्वतारोहण संघ, केन्द्रीय कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत पर्वतीय पर्यटनमा दक्ष जनशक्तिको आवश्यकतालाई मध्यनजर गर्दै दुई हप्ते माउन्टेन लिडर तालिमको दोस्रो ‘कम्पोनेन्ट’ सुरु गरेको छ ।

विभिन्न मौसम र धरातलिय परिस्थितिमा आत्मविस्वासका साथ पर्वतीय लिडरहरुले पर्यटक तथा मातहतका कामदारहरुको सुरक्षा, बाटो पत्ता लगाउने तरिका, आपतकालीन उद्दार र विश्वस्तरीय सेवा दिनसक्ने बनाउनु तालिमको लक्ष्य रहेको कार्यक्रममा बोल्ने वक्ताहरुले बताए ।


नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट पदयात्रा पथ–प्रदर्शक (ट्रेकिङ गाइड) लाइसेन्स प्राप्तगरि कम्तीमा दुईबर्षको कामको अनुभव भएको व्यक्तिले उक्त तालिममा भागलिन पाउने प्रमुख प्रशिक्षक दावा टाशी शेर्पाले बताए । सैद्धान्तिक कक्षाको साथै फिल्ड भिजिटलाई बढी प्राथमिकता दिइने हुँदा पुस २८ गते बाट एक हप्ताको लागि सोलुखुम्बु जिल्लाको पिके पिक लैजान लागेको अर्का प्रशिक्षक रामकाजी तिवारीले बताए ।


प्रशिक्षार्थीहरुलाई नेपालको जैविक विविधताबारे प्रशिक्षण दिन ललितपुरको गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्ययान पुगेका प्रशिक्षक तथा पोखरा पन्छी समाजका उपाध्यक्ष शेषकान्त शर्माले नेपाल भ्रमण वर्षको दौरानमा यस्ता तालिमले अन्तराष्ट्रिय बजारमा सकारात्मक सन्देशजाने बताए ।
तालिममा विभिन्न जिल्लाका १२ जना प्रशिक्षार्थीहरुले भाग लिएका छन । तालिमबाट आफू निकै उत्साहित भएको बारा जिल्लाबाट आएका प्रशिक्षार्थी समीप मैनालीले बताए ।