‘स्व. रञ्जित गुरुङ स्मृति नवौं एट ए साईड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता’को सम्पूर्ण तयारी पूरा

-


     मर्दी न्युज    
     २ माघ २०७६ मा प्रकाशित


Mardi News

पोखरा, २ माघ । बगर भाइखलकको आयोजनामा तेस्रो ‘स्व. रञ्जित गुरुङ स्मृति नवौं एट ए साईड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता’ को सम्पूर्ण तयारी पूरा भएको छ ।
पोखरा महानगरपालिका वडा नं. १ बगरस्थित पुरानो टुडिखेलमा ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने मुलानाराका साथ आगामी ६ देखि ११ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आज बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।


बगर भाइखलकका अध्यक्ष दिलबहादुर गुरुङले प्रतियोगिताको सम्पूर्ण तयारी भएको बताउँदै प्रतियोगिता सम्पन्न गर्न आफ्नो संयोजकत्वमा १ सय १ सदस्यीय मूल समिति र विभिन्न १३ उपसमिति गठन गरिएको बताए ।
गुरुङले पुरस्कार राशीमा बृद्धि गरेको बताए । उनले सो प्रतियोेगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद १ लाख ११ हजार प्राप्त गर्ने बताए । त्यसैगरी उपविजेता टीमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद ५५ हजार ५ सय ५५ प्रदान गरिनेछ ।
अध्यक्ष गुरुङले विद्यागत रुपमा पुरस्कारको व्यवस्था गरिएको बताउदै सर्बाेत्कृष्ट खेलाडीलाई ट्रफी सहित नगद १० हजार प्रदान गरिने जानकारी दिए । उनका अनुसार उत्कृट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्डलाई जनही ट्रफी सहित नगद ५ हजारले पुरस्कृत गरिनेछ ।


त्यस्तै अनुशासित टिम र प्रतियोगितामा सहभागी खेलाडी मध्येको सबैभन्दा जेष्ठ खेलाडीलाई सम्मान र प्रत्येक खेलमा म्यान अफ दि म्याचलाई आकर्षक पुरस्कारको व्यवस्था समेत गरिएको उनले बताए ।
गुरुङले प्रतियोगितामा २८ टिमको दर्ता भैसकेको बताउदै बिहिबार बेलुकासम्म खेल तालिका समेत सार्वजनिक गरिने जानकारी दिए । उनका अुनसार सो प्रतियोगितामा दुई विदेशी टिम, काठमाडौ, हेटौडा, चितवन, वीरगञ्ज, कैलाली, परासी तथा बुटवल लगायत स्थानका टिमहरुको सहभागिता रहने बताए ।


कार्यक्रमको उद्घाटन समारोहमा पूर्व अन्तर्राष्ट्रिय खेलाडी, पूर्व राष्ट्रिय मुख्य प्रशिक्षक एवं भू.पू. खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्कबहादुर रानाभाटलाई ताम्रपत्र एवं दोसल्लाले सम्मान गर्ने कार्यक्रम समेत रहेको अध्यक्ष गुरुङले बताए ।
सो प्रतियोगिता सम्पन्न गर्नका लागि करिब १४ लाख ५० हजार खर्च लाग्ने आयोजकले जनाएको छ । गत वर्ष सम्पन्न आठौं संस्करणको उपाधि ए.वी.सी पोखराले जितेको थियो ।