स्याङजाको रमाइलो गाउँमा लाटोकोसेरो उत्सव

-


     मर्दी न्युज    
     माघ ५ गते २०७६ मा प्रकाशित


Mardi News

फोटोः राजु आचार्य

स्याङ्जा, ५ माघ । जिल्लाको विरुवा गाँउपालिका र पुतलीबजार नगरपालिकाको सिमानामा पर्ने राङभाङ(भैसेगौँडामा ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०७६’ आयोजना गरिने भएको छ । आइतबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराइएको हो । राङभाङ क्लब, मिलेनियम टे«क व्यवस्थापन समिति र प्रकृतिका साथीहरु संस्थाको आयोजनामा कार्यक्रम गर्न लागिएको हो । उत्सव सम्पन्न गर्नका लागि बालकुमार गुरुङको संयोजकत्वमा ७ सदस्यीय ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव’ आयोजक मूल समिति गठन गरिएको पत्रकार सम्मेलनमा बताए ।

मिलेनियम पदमार्ग व्यवस्थापन समितिले भ्रमण वर्ष २०२० लाई लक्षित गरी पदमार्गमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । उत्सव यही माघ २४ र २५ गते गरी दुई दिन सञ्चालन गरिने छ । किसानको साथी भनेर चिनिने तर संरक्षणको हिसाबले ओेझेलमा परेको लाटोकोसेरो तथा हुचीलहरुको संरक्षणका लागि यो उत्सव आयोजना गर्न लागिएको प्रकृतीका साथीहरु संस्थाका निर्देशक राजु आचार्यले बताए । यो उत्सवबाट स्थानीय सांस्कृतिक कार्यक्रम तथा खेलहरुको माध्यमबाट पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्धेश्य समेत राखिएको पत्रकार सम्मेलनमा बताए । नेपालमा यस किसिमको उत्सव मनाउन थालिएको ८ वर्ष भएको आचार्यले बताए । यसअघि यो उत्सव धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा र खोटाङ जिल्लामा सम्पन्न गरिसकिएको छ । यस किसिमको उत्सव नेपालबाहेक अमेरिका, इटाली र भारतमा पनि मनाइन्छ ।

उत्सव सुरु हुनु दुई हप्ता अघि नै विभिन्न विद्यालयहरुमा लाटोकोसेरो चेतना शिविरहरु सञ्चालन गरिनेछ । उत्सवको पहिलो दिन चरा अवलोकन, प्रकृतिको फोटो खिच्ने कार्यक्रम, लाटोकोसेरासम्बन्धीु म्युजियम प्रदर्शनी, स्थानीय लोपोन्मुख खेलहरु तथा सांस्कृतिक गीत तथा नाचको प्रर्दशनी गरिने छ । सोही दिन भुरुम, घोचा गाड्ने, ठेला, पाङग्रा घुमाउने, घुयत्रो जस्ता स्थानीय लोपोन्मुख खेलको प्रदर्शनी तथा प्रतियोगिता आयोजना गरिने मुल समितिका संयोजक बालकुमारले बताए ।

उत्सवको पहिलो तथा दोश्रो दिनमा स्वागत गीत, स्थानीय साँस्कृतिक कार्यक्रमहरु घाटु, झोरा, सोरठी, कौडा, नौमती बाजा, भजन, सालैजु, २२ ताल भाका, छैटि आदिको प्रर्दशनी हुनेछ । वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीहरुले लाटोकोसेरो संरक्षणसम्बन्धी नाच समेत प्रदर्शन गर्नेछन् ।

विद्यालय स्तरीय लाटोकोसेरो चित्रकला, कथा, निबन्ध तथा कविता प्रतियोगिताको आयोजना गरिएको गुरुङले बताए । सोही प्रदर्शनीमा लाटोकोसेरासम्बन्धी जानकारी भएको सूचनाहरु, चित्र, तथा फोटोहरुको प्रदर्शनी पनि गरिने बताए । गहँुको छ्वाली, चुरा, ढुङगा, स्टीलको पाता, लप्सीको दानाबाट तथा माटोबाट बनाइएका लाटोकासेरोहरु समेत प्रदर्शनीमा राखिने छन् । आठ प्रजातिको लाटोकोसेरोहरुको आवाज सुन्ने र भिडियो हेर्ने व्यवस्था मिलाइएको प्रकृतिका साथीहरु संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले बताए । उत्सवमा सहभागी हुनेहरुको अनुहार तथा नङमा लाटोकोसेरो तथा हुचीलको चित्रसमेत बनाइने व्यवस्था गरिएको छ । उत्सवमा लाटोकोसेरोको एक फिट अग्लो रोबोट समेत प्रदर्शनी गरिने उनले बताए । त्रिभुवन विश्वविद्यालय अन्र्तगत प्राकृतिक विज्ञान संग्रहालयबाट लाटोकोसेरोको नमुनाहरुपनि प्रदर्शनीमा राखिने छ । सो अवसरमा वन्यजन्तु अनुसन्धानकर्मीहरुको आफ्नो अनुसन्धानको बारेमा पोष्टर प्रस्तुती गर्नेछन् ।

पश्चिमाञ्चल सामुदायिक अस्पताल, पृथ्वीचोकको सहयोगमा माघ २४ र २५ गते निःशुल्क स्वास्थ शिविर समेत सञ्चालन गर्न लागिएको राङभाङ युवा क्लबका अध्यक्ष समेत रहेका बालकुमार गुरुङले बताए । महिला, हाडजोर्नी तथा बच्चासम्बन्धी रोगहरुको परीक्षण गरिने उनले बताए ।

उत्सवमा राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार प्रदान गरिने
उत्सवको अन्तिम दिन चार जना नेपाली अनुसन्धानकर्मी र संरक्षणकर्मीहरुलाई संरक्षणको क्षेत्रमा गरेको योगदानको कदर गर्दै ‘प्रकृति संरक्षण पुरस्कार’ प्रदान गरिने निर्देशक राजु आचार्यले बताए । पुरस्कृत संरक्षणकर्मीहरुलाई जनही नगद रु. २५,०००÷– सहित ताम्रपत्र तथा दोसल्लाबाट सम्मान गरिने छ । यस वर्ष पुरस्कृत हुनेहरुमा पोखरा पंक्षी समाजका अध्यक्ष एवम् संरक्षणकर्मी मनशान्त घिमिरे, धनगढीका पत्रकार अविनाश चौधरी, ग्रीन गार्ड नेपालका अध्यक्ष एवम काठमाडौं निवासी संरक्षणकर्मी विश्वनाथ रिजाल र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौडेल रहेको आचार्यले बताए

संस्थागत सम्मान
त्यसै गरी लामो समयदेखि वन, वातावरण तथा वन्यजन्तु संरक्षणमा योगदान गरेका दुईवटा संस्थालाई पनि दोसल्ला र ताम्रपत्रले सम्मान गर्ने बताइएको छ । यसरी सम्मानित हुनेमा वर्दिया जिल्लामा कार्यरत बर्दिया प्रकृति संरक्षण क्लब र पाचँथर जिल्लामा कार्यरत दिपज्योती युवा क्लब रहेका छन् ।

राङभाङ(भैसेगौँडा बारे थप जानकारी
राङभाङ(भैसेगौँडा मिलेनियम पदमार्गमा पर्दछ । यसले स्याङजा र तनहँु जिल्लाका ४ वटा नगरपालिका र १ वटा गाँउपालिका समेटेको छ । ७२ किलोमीटर लामो यो पदमार्गले मध्य पहाडी क्षेत्रलाई समेटेको छ । समुद्र सतहबाट करिब १५०९ मीटरको उचाइमा रहेको यो गाँउबाट अन्नपूर्ण, धौलागिरी, मनास्लु हिमश्रृखंला देखिन्छ । गुरुङ र मगर समुदायको बाहुल्यता रहेको यो ठाँउ आसपासमा घाँटु, सोरठी, झोरा, पञ्चे बाजा आदिको स्वाद लिन सकिन्छ ।

यस क्षेत्रमा रतुवा, दुम्सि, खरायो, बाँदर, लंगूर, चितुवा, चरी बाघ, स्याल, काँडेभ्याकुर, कालिज, लामपुच्छ्रे, तित्रा, सुगा, मलेवा, ढुकुर, लाटोकोसेरो, हुचिल, कोईली, जुरेली सजिलै देख्न सकिन्छ । चरा अवलोकनको लागि यो क्षेत्र उत्कृष्ट मानिन्छ ।