
सांकेतिक फोटो
पोखरा, ५ माघ । अन्नपूर्ण पदमार्गमा बिहीबार र शुक्रबार भएको हिमपात र पहिरोका कारण ७ जना अझै सम्पर्कविहीन नै छन् । अन्नपूर्ण क्षेत्रमा हराइरहेका ३ नेपाली र ४ जना कोरियन सहित ७ जनालाई हालसम्म पनि फेला पार्न सकिएको छैन ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय पर्यटन विभागले आइतबार प्रेस विज्ञप्ति प्रकाशित गरी गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । विभागले जोखिममा परेका करिब २०० जनालाई सकुशल सुरक्षित स्थानसम्म ल्याईपु¥याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै हराइरहेका पद प्रदर्शक तथा सहयोगी एवम् कोरियन पदयात्रीहरुको खोजी, उद्दार तथा उपचारमा सरकारी, गैरसरकारी तथा निजी क्षेत्र सबैको साथ र सहयोग रहने विश्वास गरिएको छ ।
त्यसैगरी ट्रेकिङ एजेन्सिज् एसोसियन अफ नेपाल (टान)ले पनि आइतबारै प्रेस विज्ञप्ति जारी गरेको छ । ३ जना नेपाली र ४ जना कोरियाली पदयात्रीहरुप्रति टानले तीन दिनसम्म पनि सम्पर्कविहीन भएको खबरले गहिरो दुःख व्यक्त गरेको छ । टानले तीन दिनसम्म खोजी कार्य गर्ने टान पश्चिमाञ्चल संघ पोखरा, युनिट्राभ का सदस्यहरु, अखिल नेपाल पर्यटन मजदुर संघ, अन्नपूर्ण गाउँपालिका, पर्यटक प्रहरी, सेन्चुरी क्लब, स्थानीय बासिन्दाहरु, स्थानीय व्यवसायीहरुप्रति हार्दिक आभार व्यक्त गरेको छ । विज्ञप्तिमा जोखिममा परेको १ सय ३० जनालाई सकुशल छोम्रोङ र पोखरासम्म ल्याईपु¥याउने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।
सम्पर्कविहीन हुने कोरियन पर्यटकहरुमा ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सूक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन रहेकाछन् । कोरियनहरु काठमाडौँको ट्रिप नेपाल माउन्टेन गाइड नामक कम्पनीबाट टिम्स शूल्क काटेर अन्नपूर्ण बेसक्याम्पतर्फ गएका थिए । त्यसैगरी नेपालीहरुमा मिनबहादुर लामा (तामाङ), छिरिङ भोटे र नेपाली गाइड सरोज परियार हालसम्म सम्पर्कविहीन छन् ।
शनिबार नेपालीसहित ७ देशका ६४ जनालाई अन्नपूर्ण पदमार्गबाट पोखरामा हेलिकोप्टर मार्फत ल्याइएको छ । कोरियन २७, चाइनिज १६, नेपालका १०, डेनमार्कका २, सिंगापुरका ५, अष्ट्रेलियाका १, भारतका २ र टियुनेसियाका १ जनालाई पोखरामा विभिन्न हेलिकोप्टर मार्फत ल्याइएको टानले जनाएको छ ।



