पोखरा, ६ माघ । पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा माघ २० देखि २२ गतेसम्म तेस्रो विश्वशान्ति पूजा हुने भएको छ । विश्वमा शान्ति स्थायी रुपमा स्थापित गर्ने र धार्मिक सहिष्णुतालाई प्रचारप्रसार गर्नेलगायतका ७ वटा उद्देश्य राखी सोमबार नेपाल पर्वतारोहण संघमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
पूजा संयोजक हरिध्वोज तुलाचनले नेपाल पर्वतारोहण संघको आयोजनामा हुने विश्व शान्ति पूजाको उद्देश्यमा धार्मिक पर्यटनलाई नेपालको पर्यटनको गतिविधिको रुपमा स्थापित गर्ने, अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले घोषणा गरेको लुम्बिनी विश्व शान्ति निग्राम कार्यान्वयन गर्न, बुद्ध नेपालमा जन्मिएको भन्ने तथ्यलाई स्थापित गर्न, नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको प्रचारप्रसार गर्ने तथा पदयात्रामा जाँदा विभिन्न कारणले मृत्यु भएका पर्यटक तथा पथ प्रदशकहरुको आत्मा शान्तिको कामना गर्न पूजा आयोजना गर्न लागेको बताए ।
पूजाको अघिल्लो दिन लुम्बिनीमा प्रदेश नं ३ का मुख्यमन्त्रीको विशेष उपस्थितिमा १ किलोमिटरको शान्ति पदयात्रा गरेपछि त्यहाँबाट ल्याएको शान्तिदीप पोखराको हेम्जास्थित शाक्य गुम्बामा राखिने र माघ २० गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा लामा गुरुहरुसहित पोखरा नगरपरिक्रमा गरेर कार्यक्रम स्थल पु¥याई पूजाको विधिवत उद्घाटन गरिने संघका महासचिव कुलबहादुर गुरुङले जानकारी गराए ।
पूजा सम्पन्न गर्न ६७ लाख र्खच हुने समेत आयोजकले जनाएको छ । पूजामा विद्याधर महायोगी श्रीधर राणा रिम्पोछेबाट पूजापाठ तथा प्रवचन हुने आयोजकले जनाएको छ