कोरोनाभाइरसः अमेरिकामा पनि भेटियो

-


     मर्दी न्युज    
     ८ माघ २०७६ मा प्रकाशित


Mardi News

एजेन्सी

एजेन्सी । चीनमा देखा परेको नयाँ भाइरस पहिलो पटक आफ्नो भूमिमा फेला परेको अमेरिकाले पुष्टि गरेको छ । द सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार पहिलो पटक चीनमा फेला परेको कोरोनाभाइरस चीनबाट सिएटल सहर आइपुगेका एकजना अमेरिकी नागरिकमा देखा परेको हो ।

उक्त भाइरसबाट सङ्क्रमित अमेरिकी नागरिक गत जनवरी १५ तारिखमा वुहान सहरबाट फर्केका थिए । अन्तर्राष्ट्रिय सञ्चार माध्यमअनुसार वासिङ्टनस्थित एउटा स्वास्थ्य सेवा केन्द्रमा उपचारका लागि पुगेका ति व्यक्तिले यात्रा गरेको स्थान र रोगको लक्षण हेरेपछि उनी आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको अनुमान गरिएको उल्लेख छ ।

श्वासप्रश्वासमा सङ्क्रमण गराउने कोरोनाभाइरस चीनको वुहान सहरबाट फैलन सुरु भएको हो । अहिलेसम्म चिनियाँ सरकारका अनुसार उक्त भाइरसका कारण मृत्यु हुनेको संख्या नौ पुगेको छ भने सङ्क्रमित हुनेको संख्या ४ सय ४० पुगेको बताइएको छ ।

गत हप्ता वुहानबाटै फर्किएका एक नेपाली विद्यार्थीलाई पनि भाइरसको संक्रमण रहेको शङ्का गर्दै चिकित्सकहरूको निगरानीमा राखिएको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ ।

के हो कोरोनाभाइरस ?
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो ।
कोरोनाभाइरस जूनोटिक अर्थात् जनावर र मानिसबीच सर्ने भाइरस हो ।

पहिचान भएका थुप्रै प्रकारका कोरोनाभाइरस जनावरहरूमा देखिए पनि मानिसहरूलाई तिनले सङ्क्रमित बनाएका छैनन् ।

यसका लक्षण के के हुन् ?
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसहरूमा केही साझा लक्षणहरू देखिन्छन् ।

— ज्वरो आउनु र खोकी लाग्नु
— छिटोछिटो सास फेर्नु
— श्वासप्रश्वासमा कठिनाइ हुनु
— गम्भीर भएमा निमोनिया हुनु
— सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु
— मिर्गौलाले काम गर्न छोड्छ र मृत्यु समेत हुन सक्छ


कसरी जोगिन सकिन्छ?
यस भाइरसको संक्रमणबाट जोगिन विश्व स्वास्थ्य सङ्गठनले निम्न प्रकारका सुझाव दिएको छः

— नियमित रूपमा हात सफा गर्ने
— खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने
— मासु र अण्डा राम्रोसँग पकाएर खाने
— कोरोनाभाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने ।