गण्डकीमा ट्रायल शुल्क घट्यो, साना चारपांग्रेको २४ रुपैयाँ मात्र

-


     मर्दी न्युज    
     १० माघ २०७६ मा प्रकाशित


Mardi News

फोटोः रासस

पोखरा — गण्डकी प्रदेशमा सवारी चालक अनुमतिपत्रका लागि यातायात व्यवस्था कार्यालयमा ट्रायल दिँदा तिर्नुपर्ने शुल्क घटाइएको छ। यस अगाडि ट्रायल दिन कार प्रयोग गरेबापत ३०० रुपैयाँ शुल्क तिनुपर्नेमा अबदेखि २४ रुपैयाँ मात्रै शुल्क तिरेर प्रयोग गर्न सकिने भएको छ ।

यातायात व्यवस्था कार्यालय गण्डकी र सनराइज ड्राइभिङ स्कूलअन्तर्गतको कुसुम सप्लायर्सको सहकार्यमा उक्त रकममा छुट प्रदान गर्न लागिएको हो। यही माघ १५ गतेबाट लागू हुनेगरी सम्झौता भएको सनराइज ड्राइभिङका अध्यक्ष वसन्त भट्टचनले जानकारी दिए। चारपांग्रे जिप, कार, डेलिभरी भ्यानका लागि पहिला ३०० रुपैयाँ तिर्नुपर्नेमा २४रुपैयाँमात्र शुल्क लिन सुरु भएपछि ट्रायल दिने सर्वसाधरणलाई राहत हुने भट्टचनको भनाइ छ।

ट्रायल दिने क्रममा बसका लागि ७००रुपैयाँलिने गरिएकामा १८९रुपैयाँ, मिनीबसका लागि पहिला ६०० लिने गरिएकामा अब १२४रुपैयाँर ट्र्याक्टरका लागि ५०० लिने गरिएकामा अब ८९रुपैयाँशुल्क लाग्नेछ। यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र र सनराइज ड्राइभिङअन्तर्गतको कुसुम सप्लायर्सबीच गत पुस २३ गते सम्झौता भएको हो। नयाँ शुल्कमा ट्रायलमा उपलब्ध हुने गाडी नयाँ विशेषतासहितका हुने बताइएको छ। यस अगाडि पुराना मोडलका गाडीबाट ट्रायल दिनुपर्ने बाध्यता अब हट्नेछ। युरो मापदण्डका २०१९ मोडलका गाडी ट्रायलमा राखिनेछ।

पावर स्टेरिङ, एसी, पावर विन्डोज, एबीएस एण्ड इबिडी सिस्टम, एयर ब्याग, ८०० सिसी क्षमताको इन्जिन, ग्राउण्ड किलियरेन्स १८५ सिसी, व्याक सेन्सरलगायतका विशेषता भएका गाडी ट्रायलमा राखिने बताइएको छ। यातायात व्यवस्था कार्यालय कास्कीका सूचना अधिकृत भरतराज काफ्ले बोलपत्र आह्वानबाट भएको यस कार्यले सेवाग्राहीलाई राहत हुने बताए। उनले भने,ुपहिला पुराना मोडलका गाडी थिए, अब नयाँ गाडीबाट ट्रायल दिन पाइनेछ साथै ट्रायल शुल्क घटेको छ, यसबाट उपभोक्ता लाभान्वित हुनेछन्।ु