बालयौन दुव्यर्वहार न्यूनिकरण गर्न सिविनको छलफल

-


     मर्दी न्युज    
     माघ १० गते २०७६ मा प्रकाशित


Mardi News

पोखरा, १० माघ । पछिल्लो समय देशैभर बढिरहेको बालबालिका माथि हुने यौन दुव्यर्वहारको न्युनिकरणका लागी सबै नागरिक सचेत बन्नुपर्ने एक कार्यक्रममा जोड दिइएको छ ।

सिविन नेपालको आयोजनामा शुक्रवार पोखरामा सम्पन्न ‘यात्रा र पर्यटन क्षेत्रमा बालबालिकामाथि हुने यौन शोषण’ विषयक कार्यक्रममा बालबालिकामाथि हुने यौन दुव्र्यवहारको न्युनिकरणमा सबै नागरिक लाग्नुपर्ने बताइएको हो ।

पोखराको पर्यटन क्षेत्रमा हुने गरेको बालयौन दुव्र्यवहारविरुद्ध सरकारी निकाय, पर्यटन व्यवसायी, सुरक्षा निकाय, सामाजिक संघसंस्था तथा पत्रकारहरुको भूमिकाको बारेमा कार्यक्रममा छलफल भएको थियो । कार्यक्रममा पोखरा महानगरपालिका, पर्यटन व्यवसायी, सुरक्षा निकाय, पर्यटक व्यवसायीका प्रतिनिधिहरुसंग यात्रा र पर्यटन क्षेत्रमा हुने बालयौन दुव्र्यबहार लाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने बारेमा छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै सिविन नेपालका कार्यकारी निर्देशक सुम्निमा तुलाधरले नेपाली समाजमा बढ्दै गएको बालयौन दुव्यर्वहारलाई न्यूनीकरण गर्न सबै सचेत हुनुपर्ने बताए । उनले भने– ‘सबै पर्यटकहरु राम्रा मात्र हुँदैन, बालयौन दूराचारी पनि हुन्छन्, त्यसैले सम्बन्धित निकाय सचेत हुनुपर्छ ।’

कार्यक्रममा पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा सडक बालबालिकाले पर्यटकलाई सताउने कार्यलाई नियन्त्रण गर्न पोखरा महानगरपालिकाका वडा नं. ६, वडा प्रहरी कार्यालय वैदाम, पर्यटक प्रहरी, सामाजिक विकास, पोखरा पर्यटन परिषद्, शक्ति समूह र सिविन मिलेर समिति गठन गरी समस्या समाधान गर्न सहमति भएको छ ।