
फोटोः एजेन्सी
एजेन्सी । चीनमा कोरोनोभाइरसको संक्रमणका कारण मृत्यु हुने व्यक्तिको संख्या ८० पुगेको अधिकारीहरूले बताएका छन् ।
अहिलेसम्म झन्डै ३,००० जनामा उक्त भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।
चीनको सरकारी सञ्चारमाध्यमका अनुसार हुबे प्रान्तमा ३०० सय जनाभन्दा धेरै मानिस सो भाइरसका कारण गम्भीर न्युमोनियाको सिकार भएका छन् ।
अधिकारीहरूले उक्त प्रान्तमा ७६ जनाको मृत्यु भएको सोमवार बताएका छन् । मृत्यु हुने अन्य चार व्यक्ति अरू स्थानका हुन् ।
संक्रमणको केन्द्रमा रहेको उक्त प्रान्तको वुहानमा २,००० शय्याका दुईवटा अस्पतालको निर्माण हुँदैछ ।
स्वास्थ्यसेवाका पाँच लाख कर्मचारीलाई उक्त भाइरसको रोकथाम, नियन्त्रण र उपचार गर्न परिचालित छन् ।
थप मास्क तथा सुरक्षित पोसाक बनाउन कारखानाहरूमा तीव्र गतिमा काम भइरहेको छ ।

बिदा लम्ब्याइयो
सरकारले कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न नयाँ वर्षको बिदा लम्ब्याउने घोषणा गरेको छ ।
ज्यानुअरी ३० सम्म रहेको चिनियाँ नयाँ वर्षको बिदा अब फेब्रुरीको दोस्रो सातासम्म लम्ब्याइएको छ ।
यसअघि अधिकारीहरूले संक्रमण पहिलेभन्दा चाँडो फैलिरहेको चेतावनी दिएका थिए ।
लक्षण देखिनुअघि नै मानिसले यो संक्रमण अरू मानिसमा सार्न सक्ने भएकाले यसलाई नियन्त्रण गर्न थप कठिन हुने बताइएको छ ।
बीबीसी संवाददाता रुपर्ट विङ्फिल्ड हेयज भन्छन्, ‘यो कोरोनाभाइरस मानिसबाट मानिसमा सजिलै सर्ने देखिन्छ । जसले गर्दा यो चीनभरि र अन्यत्र अझ फैलने सम्भावना छ ।’

तर उनका अनुसार उक्त भाइरसको संक्रमण हुँदा ज्यान जाने संख्या कम भएको देखिन्छ। संक्रमित व्यक्तिमध्ये २ देखि ३ प्रतिशतको मात्र ज्यान गएको बताइएको छ ।
कोरोनाभाइरसको संक्रमणबारे कुराकानी गर्न विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयसस बेइजिङ जाँदैछन् ।
चीनका राष्ट्रपति सी जिन्पिङले घातक कोरोनाभाइरस तीब्र गतिमा फैलिरहेको चेतावनी दिएका छन् ।
चिनियाँ नयाँ वर्षका दिन बिदाको बेलामा आयोजित एउटा उच्चस्तरीय बैठकपछि उनले वरिष्ठ चिनियाँ अधिकारीहरूलाई देश ‘गम्भीर परिस्थिति’ मा रहेको बताएका थिए । (बिबिसीबाट)