राहत रकम वितरण गर्दै प्रतिनिधिसभका सांसद कृष्णकुमार श्रेष्ठ । फोटोः मदन तिमिल्सिना
दमौली, १४ माघ । चितुवाको आक्रमणबाट ज्यान गुमाएका तनहुँको बन्दीपुर गाउँपालिका–४ लोहीपाखाका १० वर्षीय इशक सुनारको परिवारलाई राहत रकम प्रदान गरिएको छ ।
तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले पीडित परिवारलाई तत्काल राहत स्वरुप ५० हजार र बन्दिपुर गाउँपालिकाको तर्फबाट ५० हजार गरी १ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । सो क्रममा सांसद श्रेष्ठले आफू जनताको प्रतिनिधि रहेको हुँदा सधैं जनताको साथमा रहने बताउँदै जनताको पीडा आफूले पनि महसुस गर्ने बताए । उनले चितुवालाई नियन्त्रण गरी जनतालाई त्रसित हुनबाट जोगाउन समेत निर्देशन गरे ।
मंगलवार बिहानै पुगेका सांसद श्रेष्ठ सँगै हालै निर्वाचित राष्ट्रिय सभाका सांसद भगवती न्यौपाने, तनहुँका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, प्रहरी उपरीक्षक बिनोद सिलवाल, डिभिजन वन कार्यालयका प्रमुख केदार बराल, बन्दिपुर गाउँ पालिकाका अध्यक्ष पुर्णसिंह थापासहितको टोलीद्वारा घटनास्थलको अनुगमन तथा पीडित परिवारसँग भेट गरी समवेदना प्रकट गरेका थिए ।
चितुवाको आक्रमणबाट बालक सुनारको सोमबार साँझ मृत्यु भएको थियोे । गाउँमा भएको छेवरको भोज खाएर फर्कने क्रममा चितुवाले बालकलाई आक्रमण गरेको थियो । घर नजिकै पुग्ने बेलामा आमासँगै रहेका बेला चितुवाले बालकलाई झम्टेर लिएर गएको थियो ।
चितुवाको आक्रमणबाट तनहुँमा २० महिनाको अवधिमा नौ बालबालिकाको मृत्यु भइसकेको छ । यसअघि चितुवाको आक्रमणबाट भानु नगरपालिकामा छ, शुक्लागण्डकी नगरपालिकामा एक र आँबुखैरेनी गाउँपालिकामा एक बालकको मृत्यु भएको छ ।