‘जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा’

-


     मर्दी न्युज    
     १५ माघ २०७६ मा प्रकाशित


Mardi News

स्याङ्जा, १५ माघ । पुतलीबजार नगरपालिका वडा नं. १२ टामाका ७५ वर्षीय भक्तबहादुर गुरुङ आप्mनै गाउँको स्वास्थ्य चौकीमा स्वास्थ्य जाँच गराउन पाउँदा खुशी छन् । त्यस्तै वडा नं. १२ कै राहुलथरका ८७ वर्षीय टीकाकुमारी थापा गाउँमै रक्तचाप र मधुमेह जचाउँन पाउँदा दंग छिन् । त्यस्तै गैरीस्वाँराका ७० वर्षीय मनबहादुर गुरुङ पनि रक्तचाप गाउँकै स्वास्थ्यचौकीमा जँचाउन पाउँदा खुशी छन् ।

रोग बढ्दा जीप खोजेर अस्पतालसम्म पुग्नुपर्ने, भनेको समयमा गाडीको व्यवस्था नहुने, अस्पतालमा पुगेर पनि सहज सेवा पाउन नसकिने, अस्पतालको भीडभाड जस्तो समस्याबाट आफूहरु जोगिएको भन्दै उनीहरुले खुशी व्यक्त गरे । आप्mनै गाउँमा सोचेकै समयमा छिटो र सहज ढंगबाट आफैले चिनेजानेका व्यक्तिहरुबाट सेवा लिन पाउँदा ढुक्क भई आराम महसुस भएको पनि उनीहरुले बताए ।

पुतलीबजार नगरपालिकाद्वारा ‘जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ अन्तर्गत सबै वडाहरुमा टोललाई पायक पर्ने ठाउँमा अस्पताल स्थापना गरी जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गरेको हो । सोही नगरपालिकाको पेल्काचौरस्थित जेष्ठ नागरिकको स्वास्थ्य समस्याहरुको समयमै पहिचान गर्ने, स्वास्थ्य सेवाबाट दिनचर्या सहज महसुस गराउन हरेक महिनाको २५ देखि ३० गतेसम्म टोलहरुलाई केन्द्र बनाई स्वास्थ्यकर्मीहरुको उपस्थितिमा स्वास्थ्य उपचार गर्दै आइरहेको स्वास्थ्य चौकीका प्रमुख राजेश कुँवरले बताए । स्वास्थ्य चौकीमा रक्तचाप मापन, मधुमेहको जाँच गरी औषधी वितरण गरिने उनले बताए ।

६० वर्षभन्दा माथिका जेष्ठ नागरिकसहित अपाङ्गहरुलाई पनि यस कार्यक्रममा सहभागी गराइएको उनले बताए । स्वास्थ्य चौकीसम्म पनि आउन नसक्ने गरी विरामी परेका र अशक्तहरुको लागि घरमै गएर उपचार सेवा प्रदान गरेको कुँवरले बताए ।

पुस महिनामा १ सय जना जेष्ठ नागरिकहरु र २ जना अपाङ्गहरु गरी १ सय २ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको स्वास्थ्य चौकी प्रमुख कुँवरले बताए । यस कार्यक्रमलाई सफल पार्न र सेवा प्रवाहामा कुनै कमी हुन नदिन पुतलीबजार नगरपालिकाको वडा नं. १२ को तर्फबाट पनि वडाध्यक्ष दूतप्रसाद गुरुङले सहयोग गरेको प्रमुख कुँवरले बताए ।