एमसीसीलाई इण्डो प्यासिफिकसँग जोडी विवाद नगरौंः प्रधानमन्त्री ओली

-


     मर्दी न्युज    
     १५ माघ २०७६ मा प्रकाशित


Mardi News

पोखरा, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई इण्डो प्यासिफिक रणनीतिसँग जोडी विवाद गर्न आवश्यक नभएको बताएका छन् ।

बुधबार नेकपा केन्द्रीय समिति बैठकको उद्घाटन सत्रमा बोल्दै ओलीले एमसीसीअन्तर्गतको अमेरिकी आर्थिक सहयोग स्वीकार गर्नुपर्ने बताएका हुन् । ’एमसीसी इन्डो–प्यासिफिकसँग जोडिएको छैन, यसलाई संसदबाट अनुमोदन गर्नु पर्छ’ उनले भने, ’यसले नेपाललाई घाटा होइन, फाइदा पुग्छ।’ यो कम्प्याक्ट एसियाका साथै अफ्रिका र दक्षिण अमेरिकाका गरी ४९ देशसँग भएको भन्दै उनले भने, ‘यसलाई इण्डो प्यासिफिकसँग जोड्नु बेकार छ ।’

उनले एमसीसीका सबै बुँदा पढेको उल्लेख गर्दै कुनै भ्रममा नपर्न पार्टीपंतिलाई आग्रह गरे । यो सम्झौता छिटो संसदबाट अनुमोदन गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो स्वार्वभौमसत्तालाई यस सहमतिले कुनै प्रतिकुल असर पार्दैन ।’

मंगलबारको प्रतिनिधि सभा बैठकमा पनि प्रधानमन्त्री ओलीले एमसीसी पारित गर्नुपर्ने विचार राखेका थिए भने प्रतिपक्षी कांग्रेसले पनि एमसीसी सम्झौतालाई संसद्बाट छिट्टै अनुमोदन गराउनुपर्ने पक्षमा उभिएको थियो ।