
पोखरा, १६ माघ । जनताको सार्वभौम अधिकारका लागि आफ्नो जीवन बलिदान गर्ने महान् शहीदप्रति भावपूर्ण श्रद्धा र सम्मान अर्पण गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ ।
आजको दिन नेपाली जनतामा सार्वभौम अधिकार निहीत गराउन जहाँनिया राणाशासनका विरुद्धमा दरो रूपमा आवाज उराल्ने चार वीर सपूतहरू सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको योगदानको स्मरण गरिन्छ ।
विसं १९९७ माघ १० गते निरङ्कुश राणाशासन विरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई राजनैतिक अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रुखमा झुण्ड्याएर हत्या गरिएको थियो। त्यसको दुई दिनपछि माघ १३ गते सिफलमा धर्मभक्तलाई झुण्ड्याएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभाभगवतीमा गोली हानी राणाहरूले हत्या गरेका थिए ।
उनीहरूले हाँसीहाँसी देश र जनताका लागि देखाएको त्याग राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ ।
पछिल्लो कालखण्डमा निरङ्कुश पञ्चायती व्यवस्था तथा राजतन्त्रका विरुद्धका अहिंसात्मक तथा शान्तिपूर्ण प्रजातान्त्रिक आन्दोलनका क्रममा ज्यान गुमाएकाको सम्झना तथा सम्मान पनि यसै दिवसमा गरिन्छ ।
शहीदको शालिक दश वर्षपछि अनावरण हुँदै
तनहुँको व्यास नगरपालिका–८ पुलिमराङस्थित शहीद स्मारक उद्यानमा छोपी राखिएको शालिक बल्ल अनावरण हुने भएको छ । विसं २०६६ मा शालिक निर्माण सम्पन्न गरेर राखिएको दश वर्षपछि यही माघ १६ गते शहीद दिवसको दिन अनावरण गर्न लागिएको हो ।

तत्कालिन समयमा करिब ३ करोड लागत लाग्ने शहीद स्मारक उद्यानको योजना तयार भएको थियो । सो अनुसार काम भने भएको छैन । शालिक भने त्यसबेला नै निर्माण भएको थियो । अहिले शहीद स्मारकको डीपीआर तयार भएको छ । डीपीआरअनुसार ८ करोड ९१ लाखको लागत इस्टिमेट तयार पारेको छ ।
विसं २००७ को प्रजातान्त्रिक आन्दोलनको क्रममा पुलिमराङका धर्मध्वज गुरुङले तत्कालीन सदरमुकाम बन्दीपुर कब्जा गर्ने क्रममा, विसं २०१८ मा समशेर गुरुङले चितवनको भरतपुरमा, भरत गुरुङले सोही ठाउँमा र लालध्वज गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङले कोत्रेमा सहादत प्राप्त गरेपछि उहाँको स्मृतिमा विसं २०६३ मा शहीद स्मारक निर्माण गरी विसं २०६६ मा शालिक राखिएको थियो ।
शहीद स्मारकमा शहीदको अर्धकदको शालिक दश वर्षदेखि ढाकिएको अवस्थामा छ । तत्कालीन जिल्ला विकास समितिले निर्माण गरेको शहीदको शालिक राखिएको स्मारकस्थलको भवन जीर्ण भएका कारण शालिक अनावरण हुनसकेको थिएन । शहीद उद्यानको भवन रेट्रोफिट गरी बलियो बनाइएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।
‘शहीद उद्यानको संरचना कमजोर भएकाले शहीदको शालिक अनावरण गर्न सकेका थिएनाँै’, उनले भने, हाल ‘शहीद उद्यानलाई व्यवस्थित बनाएका छौँ, शहीद दिवसको दिन पारेर शालिक अनावरण गर्ने कार्यक्रम तय भइसकेको छ ।’
विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पुलिमराङ भ्रमणको क्रममा शहीद स्मारक र उद्यान बनाउन निर्देशन दिनुभएको थियो । यसपछि शहीद स्मारक निर्माण समिति गठन गरि काम अगाडि बढाइएको स्मारक निर्माण समितिका अध्यक्ष एकबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार तत्कालीन समयमा उद्यान र स्मारक निर्माण गर्न जग्गा खोज्ने क्रममा केही अलमल भएपछि विसं २०६३ मा मात्र स्मारक निर्माण शुरु गरिएको थियो ।