चीनका सबै क्षेत्रमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको पुष्टि

-


     मर्दी न्युज    
     १६ माघ २०७६ मा प्रकाशित


Mardi News

फोटोः एजेन्सी

चीनमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या १७० पुगेको छ र उक्त सङ्क्रमण तिब्बतमा पनि देखिएसँगै चीनको मूख्य भूभागको सबैतिर उक्त भाइरस पुगेको पुष्टि भएको छ।

चिनियाँ स्वास्थ्य अधिकारीहरूले बुधवारसम्म ७ हजार ७ सय ११ वटा सङ्क्रमण पुष्टि भएको बताएका छन्।

हालसम्म चीनबाहेक कम्तीमा १५ वटा देशमा पनि कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ।

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसले विश्वव्यापी स्वास्थ्य आपत्‌काललाई सङ्केत गर्ने या नगर्ने भन्ने निर्क्यौल गर्न बैठक गरिरहेको छ।

उक्त निकायका महानिर्देशकले मानवबाट मानवमा भइरहेको सङ्क्रमणको विस्तारले आफूहरूलाई चिन्तित बनाएको उल्लेख गरेका छन्।

उनले जर्मनी, भियतनाम र जापानमा चीन पुगेका मानिसहरूबाट सङ्क्रमण फैलिएका घटना फेला परेको बताए।

खोप बनाउने प्रयास
चीन बाहिर सङ्ख्या कम भए पनि ज्यादै ठूलो स्तरको सङ्क्रमणको सम्भावना रहेको उनको भनाइ छ।

चीनमा सन् २००० को दशकको शुरूआतमा फैलिएको सार्सको सङ्क्रमणभन्दा ठूलो सङ्ख्यामा मानिसहरूमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ।

तर मृतकको सङ्ख्या निकै कम छ। सार्स पनि कोरोनाभाइरसकै एउटा सदस्य हो र त्यसले श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्याहरू निम्त्याएको थियो।

अनुसन्धानकर्ताहरूले यो भाइरसबाट मानिसहरूलाई जोगाउन खोपको विकास गर्ने प्रयास गरिरहेका छन्।

क्यालिफोर्नियाको एउटा अनुसन्धान केन्द्रले जुन वा जुलाई महिनामा मानिसमा परीक्षण गर्न सकिने खोप तयार हुने बताएको छ। बिबिसीबाट