पंक्षी अध्ययनका लागि आधारभूत तालिम

-


     मर्दी न्युज    
     १८ माघ २०७६ मा प्रकाशित


Mardi News

पोखरा, १८ माघ । नेपाल पंक्षी संरक्षण संघ पोखरा शाखाको आयोजना तथा वन विज्ञान अध्ययन संस्थान पोखरा र पोखरा पंक्षी समाज, प्रकृतिका साथीहरु र नेपाल पंक्षी संरक्षण संघको सहयोगमा तीन दिने ‘बेसिक ट्रेनिङ अन अर्निथोलोजी फर अण्डर ग्रेजुएट’ तालिम आज सम्पन्न भयो ।

कुल ३० जना प्रशिक्षार्थीहरु रहेको तालिममा चरा पहिचान विधि, नीति नियम, शिकारी चराहरुको अनुगमन तथा अनुसन्धान विधि, चरा गणना विधि, टेलिमेन्ट्री, जिआईएसको प्रयोग विधि, चरा अनुसन्धानलाई फर्केर हेर्दा, चरा सम्बन्धी फोटोग्राफी, विद्यार्थीहरुको प्रस्तुती, स्थलगत सर्वेक्षण, चराको बसाई–सराई र नियमन, सिमसारमा आश्रित चरा र तिनको बासस्थानसम्बन्धी तालिम दिइएको थियो ।

प्रशिक्षणको सहजीकरण पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका संरक्षण अधिकृत अमृत शर्मा, पोखरा पंक्षी समाजका सचिव तथा पृथ्वीनारायण क्याम्पसका प्राध्यापक हेमन्त ढकाल, नेपाल पंक्षी संरक्षण संघका गिद्द संरक्षण कार्यक्रम अधिकृत कृष्ण भुसाल, खोज तथा अनुसन्धानकर्ताद्वय अमृतकुमार पौडेल र प्रशान्त घिमिरेले गरेका थिए ।

तीन दिने तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् वन विज्ञान अध्ययन संस्था पोखरा क्याम्पसका प्रमुख रामप्रसाद शर्माले चरा संरक्षणमा यस्ता कार्यक्रम अत्यन्तै फलदायी हुने विश्वास गर्दै भविष्यमा हुने वन र वन्यजन्तुसँग सम्बन्धित कार्यक्रमहरुमा संस्थानको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रशिक्षार्थी छात्रको तर्फबाट अमन सुनार र छात्राको तर्फबाट दीपा गुरुङले तालिम अत्यन्तै फलदायी भएको धारणा व्यक्त गरे ।

नेपाल पंक्षी संरक्षण संघ पोखरा शाखाका संयोजक रक्षा ठकुरीको सभापतित्वमा भएको समापन कार्यक्रमको सञ्चालन सचिव सुजाता श्रेष्ठले गरेका थिए ।