
एजेन्सी
एजेन्सी, १९ माघ । चीनबाट देखा परेको कोरोनाभाइरसको संक्रमणका कारण एक व्यक्तिको पहिलो पटक चीनबाहिर मृत्यु भएको पुष्टि भएको जनाइएको छ ।
फिलिपिन्समा मृत्यु हुने ती मृत्यु हुने ती पुरुष हङ्कङको बाटो हुँदै एक महिलासँग फिलिपिन्स आएको त्यहाँको स्वास्थ्य विभागले जनाएको बिबिसीले उल्लेख गरेको छ । मृत्यु हुने ४४ वर्षीय व्यक्ति चिनियाँ नागरिक भएको र उनी कोरोनाभाइरस संक्रमणको केन्द्रबिन्दु मानिएको चीनको वुहानबाट फिलिपिन्स गएको सञ्चारमाध्यमले जनाएका छन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार फिलिपिन्स आउनुअघि नै उनमा संक्रमण भएको बताइएको छ ।
अहिलेसम्म कोरोनाभाइरसको महामारीबाट १४ हजार ५ सय ६२ भन्दा बढी व्यक्ति संक्रमित भएका छन् भने ३ सय ५ जनाभन्दा बढीको मृत्यु भएको साउथ चाइना पोष्टले जनाएको छ । अधिकांश बिरामीहरू चीनको हुबे प्रान्तका छन् ।
विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसका कारण विश्वभरि सङ्कट उत्पन्न भएको बताएको छ ।
अमेरिका, अस्ट्रेलिया र अन्य देशहरूले चीनबाट विदेशी नागरिकहरूलाई आफ्नो देशमा आउन प्रतिबन्ध लगाएका छन् भने आफ्ना नागरिकलाई अलग्गै राख्ने व्यवस्था मिलाएका छन् । हुबे प्रान्तमा रहेका नेपालीहरूलाई उद्धार गर्ने नेपाल सरकारले यसअघि निर्णय गरेको छ ।