
पोखरा, १९ माघ । पोखरा पंक्षी समाजको अगुवाईमा फेवातालको सिमसारमा पंक्षी अवलोकन, सरसफाई र जनचेतनामूलक कार्यक्रम गरी विश्व सिमसार दिवस मनायो ।
साधारण भाषामा वर्षैभरि पानी नसुक्ने भूभाग, हिलो वा सामान्यतय दलदल भएको स्थान नै सिमसार भन्ने बुझिन्छ । नदीनाला, तालतलैयाका आसपासका क्षेत्रहरु सिमसारमा पर्दछन् । यस्ता सिमसार क्षेत्रहरुको संरक्षणका लागि सन् १९७१ मा रामसार महासन्धी स्थापना भएयता यस सन्धीमा नेपाललगायत १६९ देशहरुले हस्ताक्षर गरेका छन् । सन् १९८७ मा रामसार महासन्धीमा नेपालले सदस्यता जनाएसँगै नेपालभित्रका धेरैजसो सिमसार क्षेत्रहरु यस रामसार क्षेत्रमा परेका छन् । त्यसैगरी पोखरामा रहेका ९ वटै तालहरुको सिमसारलाई एकमुष्टै गरी सन् २०१६ मा ‘लेक क्लस्टर अफ पोखरा भ्याली’को संस्थागत भएको हो ।

पोखरामा रहेको सिमसारहरुको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले विगतका वर्षहरुमा पनि पोखरा पंक्षी समाजले यस क्षेत्रका सिमसार क्षेत्रहरुमा पानी चरा अवलोकन, ताल क्षेत्रमा भएका प्लाष्टिकजन्य फोहोर सरसफाई तथा स्थानीय सरोकारवालाहरुलाई जनचेतनामूलक कार्यक्रम गरिएको पोखरा पंक्षी समाजका उपाध्यक्ष शेषकान्त शर्माले जानकारी गराउनुभयो ।

पोखरा तथा आसपासका क्षेत्रमा गरिएको अनुसन्धान तथा गणनाबाट नेपालमा पाइने करिब २०० प्रजाति मध्ये हालसम्म ९८ प्रजातिका चराहरु पोखरा क्षेत्रका सिमसारमा आश्रित रहेका छन् । जसमध्ये ९५ प्रतिशत हिउँदमा र ५ प्रतिशत अन्य समयमा विचरण गर्दछन् । जलचराहरुको लागि सिमसार क्षेत्रको संरक्षण गर्न अत्यन्तै आवश्यक रहेको अध्यक्ष मनशान्त घिमिरेले बताउनु भयो ।

“पोखरा आसपासका सिमसार क्षेत्र वर्षेनी खुम्चँदै र अतिक्रमणमा पर्दै गइरहेकोमा गम्भीर चिन्ता व्यक्त गर्दै दीगोरुपमा संरक्षण गर्न आवश्यक भएको र स्थानिय जनता तथा बिद्यालय स्तरमा जनचेतना जगाउने कार्यलाई तत्कालै गर्नुपर्ने देखिन्छ“ संस्थाका सचिव हेमन्त ढकालले बताउनु भयो ।

कार्यक्रममा चरा संरक्षणमा लामो समयदेखि संरक्षण कार्यमा सहभागी हरि केसी, वन विज्ञान अध्ययन संस्थानका विद्यार्थीहरु, नेपाल पंक्षी संरक्षण संघ पोखरा शाखाका सदस्यहरू, पोखरा पंक्षी समाजका पदाधिकारी तथा सदस्यहरु, संरक्षणकर्मी, चराप्रेमी र सरोकारवालाहरुको सक्रिय सहभागिता रहेको थियो ।
तस्विरः मनशान्त घिमिरे