
पोखरा, १९ माघ । कास्की जिल्ला भलिबल संघ र पोखरामा रहेको सृजना विकास केन्द्रको संयुक्त आयोजनमा ‘दोस्रो सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालयस्तरीय छात्र तथा छात्रा भलिबल प्रतियोगिता’ हुने भएको छ ।
‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित स्कुल स्कुलमा भलिबल खेल पु¥याउने लक्ष्यका साथ पोखरा रंगशालामा आगामी फागुन ६ देखि १० गतेसम्म सञ्चालन हुने आज आईतबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
उक्त प्रतियोगितामा सामुदायिक विद्यालयको कक्षा १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउने सृजना विकास केन्द्रका अध्यक्ष मीनप्रसाद भट्टराईले बताए ।
उक्त प्रतियोगितामा प्रथम हुने छात्र÷छात्रा टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद ५० हजार प्रदान गरिने अध्यक्ष भट्टराईले बताए ।

भट्टराईका अनुसार उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ३० हजार प्राप्त गर्नेछ भने तृतीय स्थान हाँसिल गर्ने टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद १५ हजार प्राप्त गर्नेछ ।
सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट बन्ने छात्र तथा छात्रा खेलाडीलाई जनही ५÷५ हजारले पुरस्कृत गर्ने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । उनले दुवैतर्फ ‘बेस्ट अफ फाईभ’ घोषित हुने खेलाडीहरुलाई १ थान भलिबल पनि प्रदान गरिने बताए ।
प्रतियोगितामा करिब ५० टिमले सहभागिता जनाउने आयोजकले अपेक्षा लिएको छ भने प्रतियोगिता सञ्चालन गर्न ९ लाख ५५ हजार खर्च लाग्ने र आम्दानी १० लाख ५० हजार हुने अनुमान आयोजकको छ । ९५ हजार रुपैयाँ बचत गरी भलिबल खेलकै विकासको लागि खर्च गरिने सो सम्मेलनमा जानकारी गराए ।