
पोखरा, १९ माघ । नेपाल हवाई खेलकुद संस्थाले पोखरामा आयोजना गर्ने ‘प्याराग्लाईडिङ वल्र्ड कप एशियन टुर २०२०’ तथा १९ औं नेपाल खुल्ला प्याराग्लाईडिङ प्रतियोगिताको तयारी तीब्र पारिएको छ ।
आगामी फागुन ११ देखि १७ गते सम्म पोखरामा सञ्चालन हुने प्याराग्लाईडिङ प्रतियोगितको तयारी बारे आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी दिईएको हो । प्रतियोगिताका संयोजक योगेश भट्टराईले नेपाल सरकारको भ्रमण वर्ष २०२० को प्रर्वद्धन गर्ने उद्देश्य सहित सो प्रतियोगिताको आयोजना गरिएको बताउदै यसको तयारी तीब्र पारिएको बताए ।
प्रतियोगितालाई अन्तर्राष्ट्रिय प्याराग्लाईडिङहरुको संस्था (एफएआई) र राष्ट्रिय खेलकुद परिषद्ले मान्यता दिएका छन । लाईसेन्स प्राप्त गर्ने खेलाडीेले उक्त प्रतियोगितामा सहभागि हुन पाउने उनले बताए । उक्त प्रतियोगितामा अमेरिका, बेलायत, नेपाल, स्वीजरल्याण्ड, फ्रान्स, जर्मनी, अष्ट्रेलिया, रसिया, बेल्जियम, युक्रेन लगायतका विभिन्न ३० मुलुकका १ सय २५ खेलाडीले प्रतिस्पर्धा गर्ने संयोजक भट्टराईले बताए ।
प्रतियोगितामा ओभरल च्यापियन, महिला च्यापियन, टीम च्याम्पियन र नेपाली च्यापियन गरी ४ विद्यामा सञ्चालन गरिनेछ । महिलातर्फ प्रथमदेखि पाचौँ स्थानसम्मका विजेतालाइ मेडल र प्रमाणपत्रले सम्मान गरिनेछ । यस्तै टिम च्याम्पियनतर्फ प्रथमदेखि तेस्रो स्थानसम्मका विजेतालाई प्रमाणपत्र र मेडलले सम्मान गरिने संयोजक भट्टराईले जानकारी दिए । उनले प्रतियोगिताबाट छनौट भएका खेलाडीहरु प्याराग्लाईडिङ वल्र्डकपको सुपर फाईनलमा भाग लिन सक्ने बताए ।
प्रतियोगिता सम्पन्न गर्नका लागि करिब ८० लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिंदै नाका अध्यक्ष कृष्ण भण्डारीले प्रतियोगितालाई सफल बनाउन सबै तर्फबाट सहयोगको अपेक्षा गरे । पत्रकार सम्मेलनमा नाका महासचिव बलराम आचार्य, नेपाली सेनाका सेनानी अर्जुन बस्नेत, इभेन्ट टिम म्यानेजर विमल अधिकारी लगायतले आ–आफ्ना भनाई राखेका थिए ।