
पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बौद्ध दर्शनलाई व्यावहारिक रुपमा अनुसरण र कार्यान्वयन गर्न सके त्यसले विश्वमा शान्ति स्थापना गर्न सकिने बताएका छन् ।
नेपाल पर्वतारोहण संघद्वारा अन्तर्राष्ट्रिय पर्वतीय संग्र्रहालयमा मंगलबारदेखि शुरु विश्वशान्ति पूजाको उद्घाटन गर्दै उनले मुलुकमा देखिएको गरिबी र बेरोजगारी जस्ता समस्या समाधानका लागि पनि शान्ति आवश्यक भएको बताए ।
त्यसै गरी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले चोखो मनले गरिने हरेक गतिविधिले विश्वमा शान्ति एवं समृद्धि प्राप्त गर्न सहयोग पुग्ने बताउँदै बौद्ध दर्शनलाई आत्मसात गर्नुपर्ने बताए ।

विश्वशान्ति पूजा मूल आयोजक समितिका संयोजक हरिध्वज तुलाचनले पूजाले राष्ट्रिय एकता कायम गर्न प्रेरणा दिने बताउँदै एक मानवले अर्को मानवलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पर्यटन विभागका मीरा आचार्य, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल, नेपाल पर्वतारोहण संघका दिनेश गुरुङ, शान्ति पूजा आयोजक समितिका सहसंयोजक राजेन्द्र सापकोटा, पोखरा १७ का अध्यक्ष तीर्थ अधिकारीलगायतले विश्वमा शान्ति स्थापना गर्न यस्ता धार्मिक कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखे ।
रिन्पोछे महायोगी श्रीधर राणासहित ६० बढी लामा गुरुबाट शान्ति कामनासहित गरिने प्रवचनमा ५०० भन्दा बढी बुद्ध दर्शनसँग सम्बन्धित पुस्तक वाचन गरिनेछ । यसअघि लुम्बिनीबाट ल्याइएको शान्तिदीप प्रदेश प्रमुख शेरचनले लिएर शान्ति ¥यालीमा सहभागी बनेका थिए । हल्लनचोकबाट शुरु भएको शान्ति ¥याली बाराहीचोक, रत्नमन्दिर, अम्बोट, सहिदचोक, मुस्ताङचोक, आँखा अस्पतालचोक हुँदै पर्वतीय संग्रहालयमा पुगेर धार्मिकसभामा परिणत भएको थियो ।