गुरुङ संस्कृति राष्ट्रिय पहिचान बनिसक्योः मुख्यमन्त्री गुरुङ

-


     मर्दी न्युज    
     २२ माघ २०७६ मा प्रकाशित


Mardi News

पोखरा, २२ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरालाई बहुसाँस्कृतिक ग्राम बनाउने बताएका छन् । गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल (जिटिन) गण्डकी प्रदेशको सातौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको बुधवार उद्घाटन गर्दै गुरुङ संस्कृति राष्ट्रिय पहिचान बनिसकेको बताए ।

गण्डकी प्रदेश जातजातिको जीवित संग्रहालय भएको बताउँदै उनले भने— ‘घाँटु नेपालको पहिचान बनिसक्यो ।’ विविध जातजातिको संस्कृति नेपालको अमूल्य निधि भएकाले त्यसलाई गण्डकी प्रदेशले संरक्षण गर्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री गुरुङले गुरुङहरु विदेशिने मात्र नभई स्वदेशमै केही गर्नुपर्ने बताए । उनले भने ‘अब गुरुङहरु समयअनुसार बदलिन सक्नुपर्छ, आफूलाई बदल्न सकेन भने डाइनोसर बन्न सक्छ ।’ गुरुङहरु राजनीतिमा सीमित व्यक्ति लागेपनि निजामति सेवातर्फ ध्यान जान नसकेको उनले बताए । उनले पछाडि परेका जातजातिलाई आरक्षणको व्यवस्था गरेपनि त्यसलाई हामीले त्यसलाई लिन नसकेको बताए । उनले भने– ‘अझै हामी २ सय ४ वर्ष पछाडि छौं ।’ इतिहासमा गुरुङहरु नेपाल एकीकरणमा ठूलो योगदान दिएपनि अझै मुल धारमा आउन नसकेकोमा अब त्यसको नेतृत्व जिटिनले गर्नुपर्ने सुझाए ।

भोवरजंग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सांसद मिनप्रसाद गुरुङ, अन्नपूर्ण गाउँपालिका प्रमुख कर्णबहादुर गुरुङ, पूर्वअध्यक्ष कुलबहादुर गुरुङ, कमला गुरुङलगायतले जिटिनको बारे मन्तव्य राखेका थिए ।
अधिवेशनले रामबहादुर गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । प्रथम उपाध्यक्षमा कृसमकुमारी गुरुङ, द्वितीय उपाध्यक्षमा विकास गुरुङ, महासचिवमा अविलास गुरुङ, कोषाध्यक्षमा सिता गुरुङ र सदस्यहरुमा कुमार गुरुङ, जुबु गुरुङ, विष्णु गुरुङ, राजेन्द्र गुरुङ, भुपाल गुरुङ, कन्याप्रसाद गुरुङ, मानसिंह गुरुङ र अनिल गुरुङ चयन गरेको छ ।