लाटोकोसेरोको संरक्षणका लागि उत्सव

-


     मर्दी न्युज    
     २४ माघ २०७६ मा प्रकाशित


स्याङजा, २४ माघ । लाटोकोसेरोको संरक्षणमा जनचेतना जगाउने उद्देश्यका साथ आजदेखि स्याङजाको विरुवा गाँउपालिका वडा नं ३ र पुतलीबजार नगरपालिका वडा नं २ को सिमानास्थित राङभाङ–भैसेगौँडामा ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०७६’ सुरु भएको छ ।
राङभाङ युवा क्लब, मिलेनियम टे«क व्यवस्थापन समिति र प्रकृतिका साथीहरु संस्थाद्वारा संयुक्त रुपमा आयोजित उत्सवको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गर्नुभयो ।


कार्यक्रममा मन्त्री गुरुङले प्रकृति र संस्कृतिमा नेपाल सम्पन्न भएको बताउँदै पर्यावरणीय संरक्षणमा योगदान गर्दै आएका लाटोकोसेरो लगायतको संरक्षण गर्नु हामी सबैको दायित्व भएको बताउनुभयो ।

विविधतापूर्ण समाजमा विद्यमान एकता हाम्रो गौरव भएको उल्लेख गर्दै उहाँले यहाँका प्रकृति एवम् संस्कृतिका क्षेत्रमा विद्यमान विविधताको जगेर्ना गर्नु कर्तव्य भएको धारणा राख्नुभयो ।

उत्सवकै अवसरमा प्रकृति एवम् पर्यावरण संरक्षणमा समाचार लेखनाका माध्यमबाट योगदान पु¥याएको भन्दै राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश कार्यालयका प्रमुख वासुदेव पौडेल सहित विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।


यसैगरी पोखरा पंछी समाजका अध्यक्ष तथा मर्दीन्यूजका संवाददाता एवम् फोटोग्राफर समेत रहेका मनशान्त घिमिरे, गोरखापत्रका कैलाली संवाददाता अविनास चौधरी, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कञ्चनपुरका प्रमुख लक्ष्मण पौड्याललाई नगद पुरस्कार एवम् ताम्रपत्र सहित सम्मान गरियो ।


कार्यक्रममा बर्दीया प्रकृति संरक्षण क्लब, बर्दीया, दीपज्योति युवा क्लब पाँचथर, र डिभिजन बन कार्यालय स्याङ्जालाई संस्थागत सम्मान गरिएको थियो ।


कार्यक्रममा मूल आयोजक समितिका संयोजक बालकुमार गुरुङ, मिलेनियम ट्रेक व्यवस्थापन समितिका अध्यक्ष नविनप्रकाश गुरुङ, नेपाल पर्यटन बोर्डका प्रशासकीय अधिकृत गोपाल भण्डारी, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोखरेल, टान पश्चिमाञ्चल क्षेत्रीय संघका पूर्व अध्यक्ष डम्बरबहादुर केसी, विरुवा गाउँपालिकाका प्रमुख चुनप्रसाद शर्मा लगायतले लाटोकोसेरो र यसले पर्यावरणमा पारेको प्रभाव तथा महत्व लगायतमा प्रकाश पार्नुभयो ।


उत्सवका अवसरमा लाटोकोसेरा सम्बन्धी संग्रहालय प्रदर्शनी, स्थानीय झोरा नृत्य, लाटोकोसेरो संरक्षण सम्बन्धि नाँच, विद्यालय स्तरीय लाटोकोसेरो चित्रकला, कथा, निबन्ध तथा कविता प्रतियोगिताका उत्कृष्ट रचना प्रदर्शनी गरिएको छ ।


लाटोकोसेरोको जानकारी भएको सूचना, चित्र, तथा फोटोको प्रदर्शनी, लाटोकोसेरोको रोबोट एवम् नमूना प्रदर्शनीका आकर्षण बनेका छन् ।


तनहुको दुलेगौडाबाट स्याङ्जाको रामबाछा जोड्ने नेपालकै एकमात्र मध्यपहाडी क्षेत्रस्थित सहस्राव्दी पदमार्ग(मिलेनियम ट्रेक) अन्तर्गत पर्ने राङभाङ–भैसेगौंडामा आयोजित उत्सवले पदमार्ग सहित यस क्षेत्रको प्रवद्र्धन हुने विश्वास लिइएको छ ।