
पोखरा । लाटोकोसेरो घर छेउमा आए अशुभ मानिन्छ । त्यसैगरी घरको धुरीमा हुचील आएभने पनि अशुभ मानिन्छ । त्यति मात्र होइन त्यसले आवाज नै निकाल्यो भने गाउँमा नै अशुभ हुन्छ भन्ने भनाई गाउँ घरमा प्रशस्त छ । लाटोकोसेरो तथा हुचीललाई हेर्ने आमधारणा बदलिन नसक्दा किसानको सहयोगी लाटोकोसेरोको संरक्षणमा चुनौती बनेको छ । लाटोकोसेरोको मासु खाँदा विभिन्न रोग सन्चो हुने विश्वास पनि गरिन्छ । तर विज्ञका अनुसार यो बुझाइ गलत हो ।

लाटोकोसेरोको मासुमा औषधीय गुण हुने कुरा वैज्ञानिक रुपमा प्रमाणित नभएको प्रकृतिका साथीहरु नामक संस्थाका कार्यकारी निर्देशक तथा संरक्षणकर्मी राजु आचार्यले बताए । आचार्यकाअनुसार औषधी, झारफुक तथा घरमा पाल्नका लागि भारत, चीनलगायत विभिन्न मुलुकमा लाटोकोसेरोको अवैध कारोबार हुने गर्दछ ।

नेपालबाट वार्षिक कम्तीमा २ देखि ३ हजारसम्म लाटोकोसेरो तथा हुचिल मारिने गरेको तथ्यांक प्रकृतिका साथी संस्थाले गरेको सर्वेक्षणमा भेटिएको बताए । तिनलाई विभिन्न मुलुकमा अवैध रूपमा जीवित नै पठाइन्छन् । वन विनाससँगै लाटोकोसेरोको वासस्थान समेत तीव्र रूपमा विनाश भइरहेको छ । आचार्यकाअुनसार मुसाको संख्या नियन्त्रण गरेर किसानलाई सहयोग गर्ने भएकोले लाटोकोसेरोलाई किसानको वास्तविक साथी भनिन्छ । यिनको एक परिवारले एक सिजनमा ३ हजारसम्म मुसा खाने गर्दछन् । मुसाबाहेक यिनले कीरा फट्याङ्ग्रा, सर्प, भ्यागुताको संख्यापनि नियन्त्रण गर्छन् । पर्यावरणलाई सन्तुलित राख्न पनि लाटोकासेरोको मुख्य भूमिका रहने उनले बताए ।

लाटोकोसेरो र हुचिल जोगाउन उत्सव
लाटोकोसेरोको संरक्षणको आवश्यकताबारे सरोकारवालालाई सचेत बनाउन स्याङ्जाको राङभाङ भैंसेगौंडामा शुक्रबारदेखि ‘नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव’ सुरु भएको छ । राङभाङ क्लब, मिलेनियम ट्रेक व्यवस्थापन समिति र प्रकृतिका साथीहरू नामक संस्थाको आयोजनामा राङभाङ भैंसेगौंडामा उत्सव सुरु भएको हो ।

यसअघि यो उत्सव धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा र खोटाङ जिल्लामा गरी ८ औं पटक उत्सव सम्पन्न भइसकेको छ । राङभाङ भैंसेगौंडामा यो उत्सव ९ औं उत्सव हो । यो उत्सवमा चरा अवलोकन, प्रकृतिको फोटो खिच्ने कार्यक्रम, लाटोकोसेरासम्बन्धी संग्रहालय प्रदर्शनी, स्थानीय लोपोन्मुख खेल तथा सांस्कृतिक गीत तथा नाच प्रदर्शनी गरिएको छ ।

‘उल्लु चरा प्रकृतिको साथीहो,’ अरनिको मावि कक्षा–६ मा अध्ययरत विन्दु थापा मगरले भने, ‘यसलाई मार्नु हुन्न, जोगाउनुपर्छ ।’ उनीजस्तै त्यस स्कुलमा पढ्ने थुप्रै बालबालिकाले लाटोकोसेरो जोगाउनुपर्छ भन्नेबारे ज्ञान राख्ने गरेको विद्यालयका प्रधानाध्यापक गोपाल पौडेलले बताए । लाटोकोसेरो प्रकृतिका लागि अति उपयोगी पन्छी भएकाले यसको संरक्षणबारे यो विद्यालयमा अध्ययनरत बालबालिकाले जानेको पौडेलले सुनाए । यस स्कुलमा उत्सव अघि प्रकृतिका साथीहरु नामक संस्थाका कार्यकारी निर्देशकसमेत रहेका राजु आचार्यले लाटोकोसेरो तथा हुचीलसम्बन्धी सचेतनामूलक कार्यक्रम गरी जानकारी लिएको प्रअ पौडेलले सुनाए । प्रअ पौडेलले भने– ‘यस विद्यालयमा लाटोकोसेरो तथा हुचील उत्सव गरेपछि प्रकृतिका लागि र मानवको लागि पनि उपयोगी पन्छी हो भन्ने अझ बुझेका छन्, बालबालिकामा यो चेतना पलाएपछि संरक्षण त हुने नै भयो ।’

लाटोकोसेरोको महत्व बुझाउन अष्ट्रियबाट डा. इन्ग्रिड बारबारा कोल पनि राङभाङ उत्सवमा देखिए । उनीदुई हप्ता अघिदेखि नै राङभाङमा रहेर त्यस वरीपरी लाटोकोसेरोसम्बन्धी सचेतना जगाउँदै हिँडे । सन् २०१७ मा राजु आचार्यसँग विदेशमा भएको एक लाटोकोसेरो सम्मेलनमा भेट भएपछि उनी निरन्तर लागि परेको बारबरा कोलले बताए ।

उक्त अवसरमा विद्यालयस्तरीय लाटोकोसेरो चित्रकला, कथा, निबन्ध तथा कविता प्रतियोगितामाउत्कृष्टको प्रदर्शनीसमेत गरिएको थियो । प्रदर्शनीमा लाटोकोसेरोको जानकारी भएको सूचना, चित्र तथा फोटोको प्रदर्शनी पनि गरिएको थियो । आठ प्रजातिको लाटोकोसेरोको आवाज सुन्ने र भिडियो हेर्ने व्यवस्था मिलाइएको छ । उत्सवमा लाटोकोसेरोको एक फिट अग्लो रोबोटसमेत प्रदर्शनीमा छ ।










































