
पोखरा, २६ माघ । कोल्मा बाहाकोट सम्पर्क मञ्चको आयोजना भएको ‘दोश्रो क्रस कन्ट्री दौड’को उपाधी पर्वतका अनिष थापा मगरले जितेका छन । शनिवार भएको ३१ किलोमिटर दौड १ घन्टा २५ मिनेट २० सेकेण्डमा थापाले पूरा गर्दै नगद ५० हजार हात पारे ।
यसै गरि सोलुखोम्बुका सुमन कुलुङ राईले उक्त दुरी पुरा गर्न १ घन्टा २८ मिनेट ३७ सेकेण्ड लगाउँदै दोस्रो स्थान भए भने गोर्खाका भिम बहादुर गुरुङले १ घन्टा ३२ मिनेट ४७ सेकेण्डमा दौड पुरा गर्दै तेश्रो स्थान हासिल गरे । दोस्रो र तेस्रो हुने राई र गुरुङले क्रमश नगद ४० र ३० हजार प्राप्त गरे ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाली सिने जगतका महानायक राजेश हमाल, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङ, एनआरएन बेलायत राज्य समितिका उपाध्यक्ष एवम कोल्मा निवासी एलविजेड् गुरुङ लगाएतले विजयी खेलाडीलाई नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
स्याङजाको पुतलीबजार नगरपालिका वडा नं. २ स्थित चिरुवाबाट सुरु भएको दौड ज्यामिरे, कोल्मा, पोखरीछाप र शुक्लागण्डकी नगरपालिकाको राइपुर हुँदै पुनः कोल्मामा पुगेर सम्पन्न भएको थियो ।
यस अघि प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका सांसद दीपक थापामगर (चर्तिमगर) र महानायक हमालले संयुक्त रुपमा उद्घाटन गरेका थिए । प्रतियोगितामा कुल ८६ जनाको सहभागिता रहेको थियो ।

तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको मिलेनियम पदमार्ग (सहस्राब्दी पदमार्ग) अन्तर्गत करिब बीच भागमा चिरुवा–कोल्मा पर्दछ ।