
स्याङ्जा, २६ माघ । पुतलीबजार नगरपालिका वडा नं. १२ पेल्काचौरस्थित महिलाहरुको क्षमता विकासको लागि महिला सञ्जालद्वारा आयोजित उद्घोषण तालिम शनिवार सम्पन्न गरेको छ ।
वडा कार्यालयको आर्थिक सहयोगमा महिला सञ्जालद्वारा आयोजना गरेको सो तालिममा ५० जना महिलाहरुको सहभागिता रहेको थियो । तालिमको वडा अध्यक्ष दूतप्रसाद गुरुङले उद्घाटन गरेका थिए ।

सो अवसरमा उनले महिलाहरुलाई अरुको अगाडि उभिएर निर्धक बोल्न सक्ने बनाउन र अबको नेतृत्व लिन सक्ने गरी अघि बढ्न सुझाए । उनले भने– ‘महिलाप्रति हेर्ने दृष्टिकोणलाई अब परिवर्तन गर्न जरुरी छ, समाज निर्माणमा महिला सहभागिता अनिवार्य भई नेतृत्व पनि लिन आवश्यक छ ।’
तालिममा बोल्ने कला, क्षमता अभिबृद्धि, नेतृत्व विकास लगायतका विषयहरुमा नगरपालिका महिला सञ्जालका संयोजक कमला मरासिनीले प्रशिक्षण दिएका थिए ।
वडा नं. १२ पेल्काचौर वडास्तरीय महिला संयोजक प्रेमकुमारी पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।