
एजेन्सी, २७ माघ । डब्लुएचओले कोरोनाभाइरस संक्रमणबाट अत्यधिक प्रभावित चिनियाँ क्षेत्रहरूमा त्यसका नयाँ संक्रमणका घटना अलिकति स्थिर हुन थालेको बताएको छ ।
केही स्थिर भएपनि अहिले नै अब भाइरस संक्रमणको वृद्धि दर रोकिने वा पुनः बढ्नेबारे बताइहाल्ने अवस्था नरहेको उसले जनाएको छ ।
आफ्नो पछिल्लो बुलेटिनमा हुबेइ प्रान्तका स्वास्थ्य अधिकारीहरूले शनिवार थप ८१ जनाको ज्यान गएको उल्लेख गरेका छन् । आइतबारसम्ममा चीनमा मात्र कोरोना भाइरसका कारण ९ सय ८ जनाले ज्यान गुमाइसकेको छ भने चीन बाहिर २ जना गरी ९ सय १० जना भाइरसका कारण ज्यान गुमाएका छन् ।
भाइरसका कारण ४० हजार ५ सय ५३ जना यस रोगबाट प्रभावित बनेको सञ्चारमाध्यमले जनाएको छ । चीनमा मात्र भाइरसका बिरामीको संख्या ४० हजार १ सय ७१ जना रहेको छ भने अन्य दर्जनभन्दा बढी देशका भाइरस प्रभावित संख्या हुन् । ३ हजार ३ सय ४२ जनाको उपचार भईसकेको साउथ चाइन मर्निङ पोष्टको समाचारमा उल्लेख छ ।
2019-nCoV नाम दिइएको उक्त भाइरस पहिलोपटक हुबेइको राजधानी वुहानमा देखा परेको थियो ।