
पोखरा, २७ माघ । सूर्य नेपालको मुख्य प्रायोजनामा सञ्चालित सूर्य नेपाल वेष्टर्न ओपन गल्फ टुर्नामेन्ट पोखरामा विहीबारदेखि सुरु हुने भएकोछ । पोखराको हिमालयन गल्फ कोर्षमा आगामी यही फेब्रुअरी १२ देखि १५ तारिखसम्म वेष्टर्न ओपन टुर्नामेन्ट गरिने मिति तय गरिएको छ ।
नेपालका शीर्ष बरियताका हिमालयन गल्फ कोर्षका रेकर्डधारी गल्फर शिवराम श्रेष्ठदेखि गत वर्षका विजेता सन्जय लामा, आर्मी गल्फ क्लबका धनबहादुर थापा, पशुपति शर्मा, दीपक न्यौपानेलगायतका गल्फरले प्रतिस्पर्धा गर्ने भुवन गुरुङले बताए । उनीहरु सबै वेष्र्टन ओपनका च्याम्पियन समेत हुन् ।

२० औं सस्करणसम्म आईपुग्दा ११ गल्फरले उपाधि आफनो नाममा लेखाईसकेका छन् । किर्तिमानीसहित शिवराम श्रेष्ठले पाँच पटक उपाधि उचालिसकेका छन् । दिपक थापा मगर, दिपक न्यौपाने , सन्जय लामा र धनबहादुर थापाले दुई÷दुई पटक जितिसकेका छन् । १९ औं संस्करण सन्जय लामाले जितेका थिए । रमेश नगरकोटी, पशुपति शर्मा, मणि राई, रवि खड्का, सन्जय लामा र भुवन गुरुङको नाममा समेत एक पटक उपाधि लेखिसकेको छ ।
पोखरा, काठमाडौं, धरान लगायतका ५० भन्दा बढी गल्फरहरुले सहभागिता जनाउने छन् । विजेता गल्फरले १ लाख २० हजार पुरस्कार राशी हात पार्नेछन् । अहिले पुरस्कार राशी बढ्ने विषयमा केही खुलाईएको छैन् । हिमालयन गल्फ कोर्षका व्यवस्थापक भुवन गुरुङका अनुसार उत्कृष्ट २० भित्र पर्ने खेलाडीले नगद पुरस्कार पाउने छन् । खेलाडीहरु पोखरा आउने क्रम जारी छ । पोखरा बाहिरका खेलाडीहरु मंगलवारसम्ममा सबै आइसक्ने गुरुङले बताए ।
सूर्य नेपालको आयोजनामा वर्षेनी वेष्टर्न ओपन, इष्टर्न ओपन र सेन्ट्रल ओपन गल्फ प्रतियोगिता हुदैं आएको छ ।