पर्वतको फलामखानी उत्खनन शुरु, भूगर्भविद्को टोली महाशिलामा

-


     मर्दी न्युज    
     माघ २८ गते २०७६ मा प्रकाशित


पर्वत-झण्डै सात दशकदेखि बन्द भएको पर्वतको महाशिला गाउँपालिका–६ को साविक फलामखानी गाविसमा रहेको फलामको खानी उत्खनन प्रक्रिया शुरु भएको छ । खानी तथा भूगर्भ विभाग लैनचौर काठमाडौँ आफैँले खानीको उत्खनन प्रक्रिया शुरु गरेको हो ।

विभागले चालू आर्थिक वर्षमा फलामखानीको विस्तृत सर्वेक्षण थालेको छ । त्यसका लागि विभागका वरिष्ठ भूगर्भविद् ठाकुर कँडेल, भूगर्गविद् प्रकाश पोखरेलसहितको टोलीले एक सातादेखि अध्ययन गरिरहेको छ । टोलीले सम्भावित ठाउँहरुमा फलामको मात्रा र गणस्तर के–कति छ भनेर अध्ययन गरिरहेको भूगर्भविद् पोखरलेले जानकारी दिनुभयो ।

उहाँका अनुसार इआरटी (इलेक्ट्रिकल रेसिस्टीभिटी टेक्नोलोजी)को माध्यमबाट अध्ययन अनुसन्धानकोे काम भइरहेको छ । अहिले हेर्दा कुनै ठाउँमा सतहमा फलाम भेटिएको छ भने कुनै स्थानमा जमीनमुनि भएको पाइएको छ । दुईदेखि आठ मिटरसम्म खानी रहेको साधारण अध्ययनले देखाएको छ । टोलीले नमूना सङ्कलन पनि गरिरहेको पोखरेलले बताउनुभयो ।

यहाँ दुई किलोमिटर लम्बाइमा खानी फैलिएको देखिन्छ । उहाँका अनुसार अध्ययनकै क्रममा रहेकाले विस्तृत विवरण आइसकेको छैन ।