सामुदायिक रेडियोलाई विविधतामा लैजानुपर्छः अधिकारी

-


     मर्दी न्युज    
     २८ माघ २०७६ मा प्रकाशित


Mardi News

पोखरा, २८ माघ । नेपाल भाषा, धर्म, संस्कृति र भौगोलिकले विविधायुक्त भएझैं सामुदायिक रेडियोलाई पनि विविधतामा लैजानुपर्ने गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले बताए । पोखरामा आज भएको नवौं विश्व रेडियो दिवसको अवसरमा आयोजित रेडियो र विविधता अन्तरक्रिया कार्यक्रममा सभामुखले सो कुरा बताएको हो ।

सभामुख अधिकारीले नेपालको परिवेशमा छिटोभन्दा छिटो जनतामाझ सूचना पु¥याउने माध्यम नै रेडियो भएकाले यसलाई सबैको पहुँचमा पु¥याउनुपर्ने सुझाए । सभामुख अधिकारीले भने– ‘अहिलेको युग सूचना र प्रविधिको युग हो, सबै ठाउँमा इन्टरनेटले काम गर्दैन, पत्रपत्रिका पुग्दैन, सबैमा पहुँच पु¥याउने माध्यम नै रेडियो हो ।’ सभामुख अधिकारीले भने— ‘नयाँ ढंगबाट विकास भएको फेसबुकले अरु मिडियालाई नै पछि पारेको हो कि ? भन्ने झैं भएको छ, यसलाई पत्रकारहरुले फरक देखाउनु पर्छ ।’

सभामुख अधिकारीले ठूलो मिडिया हाउस र मोफसलका बीचमा धेरै असमानता भएको बताउँदै सरकार सबै पत्रकारको हक अधिकार सुनिश्चिततर्फ लागेको बताए । संविधानले केही हदसम्म अधिकारहरु स्थापित गरेपनि पत्रकारको पीरमर्कालाई कानुन निर्माण गरेर सम्बोधन गरिने बताए ।

सामुदायिक रेडियो प्रसारक संघ कास्कीका अध्यक्ष शान्ति गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सांसद मीना गुरुङ, प्रेस स्वतन्त्रताका सेनानी बद्रीविनोद प्रतीक, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, अधिवक्ता जुना गुरुङलगायतले एफएम रेडियोको संख्या धेरै भएको बताउँदै रोडियोले गुणस्तरीय सेवा दिनुपर्ने धारणा राखेका थिए ।