
नयाँदिल्ली । भारतको दिल्लीमा भएको विधानसभा निर्वाचनमा अरबिन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप)ले स्पष्ट बहुमत ल्याएको छ । जम्मा ७० स्थानका लागि भएको निर्वाचनमा आम आदमी पार्टी (आप) ले ५२ स्थानमा विजय प्राप्त गरेको छ भने १० स्थानमा अगाडि छ ।
भाजपाले जम्मा ६ सिट जितेको छ भने आपले मंगलबार साँझ ८ बजेसम्म ५२ स्थानमा जीत हासिल गरेको छ ।
भाजपा भने ३ स्थानमा अगाडि देखिएको छ । यससँगै आपले दिल्लीमा तेस्रो पटक सरकार बनाउँदैछ । दिल्ली विधानसभामा सरकार गठन गर्न जम्मा ३६ सिट पर्याप्त छ । ७० सदस्यीय विधानसभाका लागि गत शनिबार मतदान भएको थियो ।
दिल्ली चुनावको यो नतिजासँगै आपले तेस्रोपटक सरकार बनाउने र केजरीवाल पुनः मुख्यमन्त्री बन्ने पक्का भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केजरीवाललाई बधाई दिँदै दिल्लीका जनताको अपेक्षा पूरा गर्न सक्षम बन्न शुभकामना पनि दिएका छन् ।