माघमै फुल्यो लालीगुराँस

-


     मर्दी न्युज    
     २९ माघ २०७६ मा प्रकाशित


Mardi News

पोखरा, २९ माघ । पोखरा पंक्षी समाजका विज्ञ समूह, वरिष्ठ ट्रेकिङ गाइडहरु तथा प्रकृतिप्रेमीहरु नब्बेको दशकमा एकदमै लोकप्रिय तथा बेलायती राजकुमार चाल्र्सले पदयात्रा गरेको रोयल ट्रक ओझेलमा परेकोले त्यसलाई प्रबद्र्धन गर्न त्यस क्षेत्रमा जाँदै थिए । पदमार्गको कालिकास्थान नजिकै देउमाडीमा माघमै फुलेको लालीगुराँस देखेपछि उनीहरु छक्क परे । सामान्यतय चैत–वैशाखमा फुल्ने गुराँस दुई महिनाअगावै फुलेपछि उनी छक्क परेका हुन् ।

केही वर्ष अघिसम्म फागुन अन्तिमतिर मात्रै लालीगुराँस फुलेको देखेका उनीहरु अहिले माघमै फुलेको देखेपछि जलवायु परिवर्तनले फागुन चैतमा फुल्ने लालीगुराँस माघमै फुलेको हुनसक्ने अनुमान लगाए । पदयात्रामा फुलेको लालीगुराँस देखेपछि केहीले टिपेर सँगैका साथीहरुलाई दिए ।

सहभागी गाइड तुलसीप्रसाद सुवेदीले भन्नुभयो, ‘पहिले फागुन अन्तिम, चैत पहिलो सातातिर देखिने लालीगुराँस अहिले माघमै देखियो । के अचम्म भयो यो ?’ जलवायु परिवर्तनले फागुन चैतमा फुल्ने लालीगुराँस माघमै फुलेको हुनसक्ने उहाँको भनाई थियो ।

‘रोयल ट्रेक’को पुनः प्रवर्धन गर्न अध्ययन

पोखरा उपत्यकाको पूर्वी भागमा पर्ने ‘रोयल ट्रेक’ ओझेलमा परेपछि पोखरा पंक्षी समाजका विज्ञहरु, वरिष्ठ ट्रेकिङ गाइडहरु तथा प्रकृतिप्रेमीहरु गरी १५ सदस्यीय टोलीले कालिकास्थान, ठूलोकोटको देउमाडी पुगी आज बुधबार प्रारम्भिक अध्ययन टुँग्याएको छ । यस अध्ययन प्रतिवेदनलाई केही दिनमा नै पदमार्ग प्रबद्र्धन एवम् निर्माण समितिलाई हस्तान्तरण गरिने पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताउनुभयो ।

अध्ययन टोली भोलि फागुन १ गते मादी गाउँपालिकाको चितेपानी, ठूलोस्वाँरा, थाम लंकाक्षर हुँदै पोखरा फर्कने पोखरा पंक्षी समाजका कोषाध्यक्ष एवम् युव गाइड विपिनराज सापकोटाले बताउनुभयो ।

यस ठाउँको सुन्दरता र विविधता अनि स्थानीयहरुको आतिथ्यताबाट आफू एकदमै खुशी भएको युनिट्राभको संस्थापक अध्यक्ष एवम् वरिष्ठ ट्रेकिङ गाइड खेम गुरुङले बताउनुभयो ।

अव्यवस्थित रुपमा खोलिएका ग्रामीण सडकहरु, पर्याप्त रुपमा बसोबासको व्यवस्था नहुनु, क्याम्प साइटहरु मासिदै जानु र पर्याप्त प्रचारप्रसारको कमीले गर्दा रमणीय पदमार्ग ओझेलमा परेको सरोकारवालाहरुको भनाइ छ ।
यस सुन्दर पदमार्गलाई प्रबद्र्धन गरी रोजगारी सृजना गर्ने र युवाहरुको पलायनलाई रोक्ने उद्देश्यका साथ ‘रोयल ट्रेक प्रवद्र्धन एवम् निर्माण समिति’ गठन गरिएको समितिका अध्यक्ष एवम् पर्यटन व्यवसायी नारायण कुँइकेलले बताउनुभयो । समितिकै पहलमा यस क्षेत्रमा भएका पंक्षी तथा जैविक विविधताको अध्ययन गरी त्यसलाई पर्यटनसँग जोड्न र सम्भाव्यता अध्ययन गर्न अध्ययन थालिएको कुँइकेलले बताउनुभयो ।