
स्याङ्जा, फागुन २ । नसर्ने रोगको जोखिम बढेसँगै पुतलीबजार नगरपालिका वडा नं. १२ ले न्यूनीकरण अभियान सुरु गरेको छ । न्यूनीकरण अभियान कार्यक्रमअनुसार वडा नं. १२ को आर्थिक सहयोगमा पेल्काचौर स्वास्थ्य चौकीले पहिलोपटक सचेतना तालिम दिएको छ ।
गत आइतबार र सोमवार गरी पहिलो चरण अन्तर्गत ६१ जना सहभागीहरुलाई नसर्ने रोगसम्बन्धी तालिम दिइएको थियो । त्यसै गरी गएको मंगलवार र बुधवार ५० जनालाई सो रोगसम्बन्धी तालिम दिइएको छ ।

तालिमको प्रुमख सहजकर्ता राजेश कुँवरले पछिल्लो समय नसर्ने रोगले सरुवा रोगको तुलनामा ६० प्रतिशत मानिसको ज्यान लिन थालेको भन्दै दैनिक जीवनशैलीमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका थिए । हरेक नागरिकको जीवन बचाउने र अँध्यारोमा उज्यालो बत्ती बाल्ने काम स्वास्थ्यकर्मीको रहेको औंल्याउँदै यो अभियानमा लागेको बताए ।
पुतलीबजार नगरपालिका वडा नं. १२ का अध्यक्ष दुतप्रसाद गुरुङले नसर्ने रोगविरुद्ध गाउँगाउँ र टोलटोलमा जनचेतना फैलाउन स्वास्थ्यकर्मीलाई आग्रह गरे । उनले नसर्ने रोगहरूबाट बच्न खानपान र आहार–विहारमा परिवर्तन ल्याउन जरुरी रहेको बताए । ‘मदिरापान नगर्ने, शारीरिक रूपमा सक्रिय रहने, नुन र चिनीको प्रयोग कम गर्ने, सुर्तीजन्य पदार्थको सेवन नगर्ने, फलफूल र सागसब्जी प्रशस्त खानेतर्फ जोड दिनुपर्छ,’ उनले भने ।
अध्यक्ष गुरुङले स्वास्थ्यचौकी तथा सहभागीहरुलाई धन्यवाद दिंदै आगामी वर्ष स्वास्थ्यचौकीलाई सुविधासम्पन्न बनाउँदै स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गर्ने प्रतिबद्धता पनि जनाए ।

पछिल्लो समय नसर्ने रोगहरू जस्तै– मुटुरोग, श्वासप्रश्वास, क्यान्सर, मधुमेह जस्ता विभिन्न किसिमका नसर्ने रोगबाट मृत्यु हुनेको संख्या बढिरहेको अन्य सहजकर्ताहरु विदुर रेग्मी र सदिक्षा गौतमले बताए । तालिममा कुँवर, रेग्मी र सदिक्षाले सहजीकरण गरेका थिए ।
मानिसले जीवनशैली परिवर्तन गर्न सके नसर्ने रोगको संक्रमणबाट टाढै रहन सकिने स्वास्थ्यकर्मीहरुले बताए । नसर्ने रोगबाट बच्न मोटोपना घटाउने, नियमित शारीरिक व्यायाम गर्ने तथा चिल्लो पदार्थ आवश्यक मात्रामा प्रयोगका साथै मदिरा तथा सुर्तीजन्य पदार्थ सेवन नगरे यसको जोखिम घटाउन सकिने उनीहरुले सुझाए ।
पहिलो चरणमा ६० जनाले रक्तचाप र २५ जनाको मधुमेहसम्बन्धी जाँच गरेका थिए भने दोस्रो चरणमा ५० जनाले रक्तचाप र २० जनाले मधुमेहसम्बन्धी जाँच गरेका थिए ।