क्होला उत्खनन् कार्यलाई अगाडि बढाउन मुख्यमन्त्रीसँग माग

-


     मर्दी न्युज    
     ४ फाल्गुन २०७६ मा प्रकाशित


Mardi News

पोखरा, ४ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग तत्कालिन क्होला उत्खनन्को को–डाइरेक्टर पच्यु पैंडी चिवा यारजङ क्रोम्छें गुरुङले भेट गरी पुनः उत्खनन् कार्यलाई अगाडि बढाउनको लागि बजेट विनियोजन गरिदिन माग गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हालै भएको भेटमा उनले क्याम्ब्रिज विश्वविद्यालयका पुरातत्वविभागसँग आफूले बैठक गरी विज्ञहरुलाई उत्खनन्को लागि अनुरोध गर्ने बताउँदै सो कार्यको लागि बजेट विनियोजन गरिदिन माग गरेका हुन् ।

तमु प्ये ल्हु संघका संस्थापक सदस्य समेत रहेका गुरुङले क्होला क्षेत्रमा जथाभावी बनिरहेको संरचना बारे चिन्ता व्यक्त गर्दै सो कार्यलाई पनि रोक्नको लागि मुख्यमन्त्री गुरुङसँग अनुरोध गरेका छन् ।

यारजङ गुरुङले विश्व सम्पदा सूचिमा सूचिकृत गर्नको लागि भइरहेको पहलमा क्होलामा विभिन्न समुदायले संरचना निर्माण गर्न थालेपछि क्याम्ब्रिज विश्वविद्यालयका पुरातत्वविभागका प्रमुख क्रिष्टोफर इभानस्ले भग्नावशेष रहेको ठाउँमा संरचना निर्माण गरेकाले क्होला विश्व सम्पदा सूचिमा सूचिकृत हुन नसक्ने बताएको उक्त भेटमा मुख्यमन्त्रीसँग सुनाए ।

गुरुङ जातिको इतिहास बोकेको यस सम्पदालाई जीवन्त बनाउने सोचमा आफू रहेको प्रष्ट पार्दै यारजङ गुरुङले भने ‘अहिले क्होला क्षेत्र फिल्म सुटिङ स्थल बनेको छ, विभिन्न तमु थरकाले संरचना निर्माणमा होड चलेको छ, पिकनिक स्पोर्ट बनेको छ, यसले गर्दा सम्पदा संरक्षण होइन विनास भइरहेको छ ।’

यारजङ गुरुङले क्रपुदेखि एक्रे, मैजु, हेरु, प्ह्रागा, मनोँसम्मका ठाउँहरु पनि उत्खनन् गर्नुपर्ने बताए । क्होलामा मुख्य गरी तीन गाउँ भए तापनि त्यस वरीपरीका ठाउँहरुमा भएको भेंडी गोठलगायतका ठाउँलाई पनि उत्खनन्को लागि संरक्षण गर्नुपर्ने बताए । उत्खनन्को लागि थुर्चु, प्हुर्जु, चिक्रेँ, पक्रेँ, होमा ङ्हैरु ङ्ह्यो, फैदु न्हे, चोम्रो, नौदी, तस खोब, प्हन्ग छ्योप, च्ह्यम्स्यो उ, कन्यकोँलगायतका दर्जनभन्दा बढी ठाउँहरु रहेको बताए ।

भेटवार्तामा मुख्यमन्त्री गुरुङले विशेषज्ञसँग छलफल गरी उत्खनन्को लागि आवश्यक अनुमानित खर्च विवरणसहित कार्ययोजना पेश गरेमा आवश्यक रकम विनियोजन गरिदिने विश्वास दिलाए । उक्त भेटवार्तामा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको पनि सहभागिता थियो ।