
पोखरा, ५ फागुन । गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्मा पौडेलले दीगो विकासका लागी ठोस योजना ल्याउनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ र अनौपचारिक क्षेत्र सेवा केन्द्र गण्डकी प्रदेशको आयोजना तथा नीति तथा योजना आयोग गण्डकी प्रदेशको सहकार्यमा सोमवार भएको दीगो विकास लक्ष्य र सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
नेपालमा अहिले ३१.१६ प्रतिशत गरिबी रहेको जानकारी दिंदै शर्माले वि.सं. २०८७ सम्ममा गरिबीलाई २ प्रशितमा झार्ने लक्ष्य रहेको बताए ।
यसैगरी गण्डकी प्रदेशमा १४.९ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको बताउँदै उनले २०८७ सालसम्ममा २ प्रतिशतमा झार्ने बताएको हो । डा. शर्मा पौडेलले पत्रकारहरुले शिक्षा, स्वास्थ्य, भोकमरी नियन्त्रणजस्ता विषयवस्तुलाई अध्ययन गरी कमल चलन आग्रह गरे । उनले भने– ‘खानपानको अभाव मात्र होइन, बढी खानाले पनि समस्या आएको छ, यस विषयवस्तुलाई पत्रकारले कलम चलाउन आवश्यक छ’ उनले भने– ‘शहर बजारमा खान नपाएर होइन, प्रोटिनयुक्त खाना बढी खाएर पनि रोग निम्तिरहेको छ ।’
कार्यक्रममा शान्तिका लागी नागरिक समाजको सन्जाल पोखराका अध्यक्ष बिष्णुप्रसाद बरालले नेपालले तय गरेको दीगो विकास लक्ष्यका कार्यक्रम धेरै राम्रो भए पनि कार्यान्वयन पक्षमा फितलो भएको टिप्पणी गरे । उनले पहुँचको आधारमा खर्च गर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताउँदै पत्रकारले सधैं खबरदारी गर्नुपर्ने बताए ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र गण्डकीका संयोजक शिव खकुरेल, पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीलगायतका वक्ताले दीगो विकासका लक्ष्य प्राप्त गर्न पत्रकारले तीनै तहका सरकारलाई खबरदारी गर्नुपर्ने बताए ।