स्याङ्जा, ६ फागुन । संघीय सांसद नारायण मरासिनीले खेलकूद देशको स्वस्थ र दक्ष जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण क्षेत्र रहेको बताएका छन् । पुतलीबजार नगरपालिका स्याङ्जाद्वारा आयोजित अन्तरविद्यालय नगरस्तरीय मेयरकप खेलकूद प्रतियोगिताको सोमवार उद्घाटन गर्दै सांसद मरासिनीले भने— ‘खेलकूद क्षेत्रले खेलाडीको शारीरिक तन्दुरुस्तीको काम मात्रै गर्दैन, यसले समग्र राष्ट्रकै गौरव बढाइरहेको हुन्छ, स्वस्थ र दक्ष जनशक्ति उत्पादन गर्नेदेखि देशको समृद्धिका लागि खेलकूद निकै महत्वपूर्ण छ ।’
स्थानीय तहमा आयोजित खेलकूदले देशमा थुप्रै प्रतिभावान खेलाडी जन्माउने धारण व्यक्त गर्दै उनले भने— ‘यस्ता खेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद खेली अब्बल दर्जामा रुपान्तरण हुन पनि सहयोग पुर्याउँछ’, राज्यको तर्फबाट खेलाडीलाई उचित प्रोत्साहन गर्न आवश्यक छ ।’
शिक्षण सिकाई क्रियाकलापहरुमध्ये अतिरिक्त क्रियाकलापले बालबालिकाको सिकाईमा महत्वपूर्ण भूमिका खेल्ने हुँदा बालबालिकाहरुको शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त पार्न खेलकुदले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा अन्तरविद्यालय खेलकुद आयोजना गरिएको मेयर सिमा क्षेत्रीले बताए । उनले भने– ‘बालबालिकाहरुको प्रतिभा प्रष्फुटन एवम् क्षमता अभिबृद्धिका साथै सृजनात्मक कार्यमा प्रोत्साहन गर्न खेलकूद अपरिहार्य छ ।’
नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका सहभागि यस मेयरकप खेलकूदमा भलिबल, विभिन्न दूरीका दौड, हाइजम्प, लङजम्प, क्रिकेटलगायतका खेलहरु समावेश रहेको पुतलीबजार नगरपालिकाका प्रशासकीय अधिकृत ताराचन्द्र ढकालले बताए ।