
पोखरा, ६ फागुन । कोरोना जीवाणुको महामारीको केन्द्रका रुपमा रहेको उहानस्थित अस्पतालका निर्देशकको मङ्गलबार मृत्यु भएको छ ।
गत वर्षको अन्त्यतिर उहानमा उत्पत्ति भएको ठानिएको कोविड–१९ जीवाणुका कारण चीनमा मात्र एक हजार ९ सयको मृत्यु भइसकेको छ भने मंगलबार बिहानसम्म संक्रमितको संख्या ७३ हजार ४ सय २९ पुगेको छ । यसबाट संक्रमितमध्ये निको हुनेको संख्या १२ हजार नाघेको छ।
चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले मृत्यु हुने चिकित्सक उहानस्थित उचाङ अस्पतालका निर्देशक लिउ झिमिङ रहेको जनाएको छ । उनलाई बचाउन भरमग्दूर प्रयास गरिए पनि नसकिएको अस्पतालको भनाई छ ।
उनी कोरोना जीवाणुका कारण मृत्यु हुने पहिलो उच्च पदाधिकारी एवं चिकित्सक हुन् । यही प्राणघातक जीवाणुका कारण उहानमा कम्तीमा छ जना स्वास्थ्यकर्मीको ज्यान गइसकेको छ भने एक हजार ७ सय १६ जना सङ्क्रमित भएका छन् ।
यसअघि कोरोना जीवाणुका बारेमा पहिलो जानकारी दिने उहानकै नेत्ररोग विशेषज्ञ डा ली वेनलियाङको मृत्यु भएको थियो । उहानका चिकित्सकहरूले मास्क र शरीरमा लगाउने विशेष सुरक्षा कपडाको अभाव झेलिरहेको बताइन्छ ।