सृजना कप छात्र/छात्रा भलिबल खेल पोखरामा सुरु

-


     मर्दी न्युज    
     ७ फाल्गुन २०७६ मा प्रकाशित


mardi news

पोखरा, ७ फागुन । पोखरामा सृजना कप सामुदायिक मावि छात्र / छात्रा भलिवल प्रतियोगिता शुरु भएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा बुधबारदेखि पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा प्रतियोगिता शुरु भएको हो ।

फागुन १० गतेसम्म हुने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले उद्घाटन गरेका छन ।

आज बुधबार भएको प्रतियोगिताको उद्घाटन खेलमा छात्रतर्फ ८ र छात्रातर्फ ४ गरी कुल १२ खेल सम्पन्न भएका छन् । छात्रतर्फ भएको प्रतियोगिता अन्तर्गतको खेलमा शुक्रराज माविले तालवाराही माविलाई २५–१५ र २५–१० को सोझो सेटमा पराजित गरेको छ । यसैगरी अर्को खेलमा वाराही माविले नवीन माविलाई २५–२२ र २५–२० को सेटमा पराजित गर्यो । छोरेपाटन माविले जनप्रकाश माविमाथि २५–१६, २०–२५ र २८–२६ को सेटमा जीत निकाल्यो ।

यसैगरी शान्त माविले रत्नशोभा माविलाई २५–१५ र २५–१६ को सोझो सेटमा हरायो । भद्रकाली माविले गौरीशंकर माविलाई २५–२२ र २५–१८ को सोझो सेटमा पराजित गर्यो ।

यसैगरी, पार्दी माविले विन्दबासिनी माविलाई १७–२५, २५–२१ र २५–१८ को सेटमा जित निकाल्यो । मेश्रम बराह माविले सिद्धबराह माविलाई २५–१८ र २५–२१ को सोझो सेटमा हरायो । माछापुच्छ्रे माविले शुक्लागण्डकी माविलाई २५–२१ र २५–२२ को सेटमा जित निकाल्यो ।

प्रतियोगिताअन्तर्गत बुधबार भएको छात्रातर्फको खेलमा छोरेपाटन माविले कालिका माविलाई २५–८ र २५–१० को सोझो सेटमा हरायो । विन्दबासिनी माविले गौरीशंकर माविलाई २५–१६ र २५–२१ को सेटमा पराजित गर्यो । अमरसिंह माविले बराह माविलाई २५–२३, २३–२५ २५–२२ को सेटमा हरायो । महेन्द्र माविले सिद्धबराह माविलाई २१–२५, २५–१६ र २७–२५ को सेटमा पराजित गर्यो ।

प्रतियोगिता अन्तर्गत विहीबार ११ खेल हुने कास्की जिल्ला भलिवल संघले जनाएको छ । विहिबार छात्रतर्फ कालिका मावि र जनप्रिय मावि, भद्रकाली मावि र राष्ट्रिय मावि, विन्दबासिनी मावि र शुक्रराज मावि, माछापुच्छ्रे मावि र अमरसिंह मावि, लक्ष्मी मावि र छोरेपाटन मावि, मेश्रमबराह मावि र महेन्द्र मावि तथा शान्त माविले कालिका मावि र जनप्रिय माविको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

छात्रातर्फ विहिबार जनप्रिय मावि र छोरेपाटन मावि, विन्दबासिनी मावि र जनप्रकाश मावि, शान्त मावि र राष्ट्रिय मावि तथा ताल वाराही मावि र महेन्द्र मावि प्रतिस्पर्धामा उत्रिने आयोजकले जनाएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका शुरु भएको प्रतियोगितामा छात्रतर्फ २७ र छात्रातर्फ १५ गरि कुल ४२ टिमले प्रतिष्पर्धा गर्ने कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिएका छन् । प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरुले मात्र सहभागिता जनाएका छन् । प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थीहरु मात्र सहभागि हुन पाउनेछन् ।

उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल, सदस्य राजेशकुमार गुरुङ, सृजना विकास केन्द्रका अध्यक्ष मिनप्रसाद भट्टराईलगायतले खेलकुदको विकासबारे मन्तव्य व्यक्त गरेका थिए ।

प्रतियोगितामा उपाधि बिजेता छात्रछात्रा दुवै तर्फकालाई ५० / ५० हजार, उपविजेतालाई ३० / ३० हजार र तृतीय हुने विद्यालयले १५ / १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।

त्यस्तै, प्रतियोगिताको छात्र तथा छात्रा दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले जनही ५ / ५ हजारसहित ट्रफी पुरस्कार पाउनेछन् । विधागत रुपमा उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकले १ / १ थान भलिबल प्रदान गरिने सृजना विकास केन्द्रका प्रथम उपाध्यक्ष ईन्द्रप्रसाद पौडेलले जानकारी दिए ।